पहिलो चरणको उम्मेदवारी दर्ताको मिति दुई दिन पर सारियो

 

काठमाडौं । स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न बसेको सरकार, संघीय लोकतान्त्रिक गठबन्धन र निर्वाचन आयोगका आयुक्तहरुको संयुक्त बैठकले पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति बैशाख १८ मा सार्ने निर्णय गरेको छ ।
यसअघि आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, बैशाख १६ गते उम्मेदवारी दर्ता गर्ने दिन तोकिएको थियो । मधेसी मोर्चा आवद्ध ६ दलको एकीकरणपछि गठित दल राजपासँगको सहमतिमा उनीहरुलाई अवसर दिन उम्मेदवारी दर्ताको मिति सारिएको हो ।

जेठ ३१ गते गर्ने भनिएको दोस्रो चरणको निर्वाचनका लागि दल दर्ताको व्यवस्था गर्ने निर्णय पनि भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर तत्काल कानून संशोधन सम्भव नभएकाले नयाँ चुनाव चिन्ह र मत पत्र छापेर निर्वाचन गर्दा निर्वाचन प्रभावित हुने भएकाले चुनाव चिन्हसम्बन्धि व्यवस्था निर्वाचन आयोगले तोकेबमोजिम हुने निर्णय पनि बैठकले गरेको छ । निर्वाचन आयोगको आफ्नो अन्य तयारीलाई यथावत् राख्ने निर्णय पनि बैठकले गरेको जनाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा स्थानीय तह निर्वाचनको राजनीतिक तथा प्राविधिक तयारीबारे पनि छलफल भएको थियो । बैठकमा निर्वाचन आयोगको काम र तयारी पनि प्रभावित नहुने र दर्ता प्रक्रियामा छुटेका दलहरुलाई पनि निर्वाचनमा समावेश गर्ने विधिका विषयमा केन्द्रित भएर छलफल भएको थियो ।
वैशाख ११ गते ।