स्थानीय तहको संख्या बढाउने षडयन्त्रविरुद्ध एमालेव्दारा संसद् बैठक अवरुद्ध

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले बालानन्द पौडेल नेतृत्वको आयोगको प्रतिवेदनलाई खण्डित गर्ने गरी सरकारले स्थानीय तहको संख्या बढाउन खोजिएको भन्दै व्यवस्थापिका संसद बैठक अबरुद्ध गरेको छ ।

संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद गंगाधर तुलाधरले स्थानीय विकास मन्त्रालयले परिपत्र गरेको सूचना आएको बताउँदै ‘पुनर्संरचना आयोगको प्रतिवेदनलाई खण्डित हुने गरी केही स्थानीय तहको संख्या बढाउन कोटा तोकिएको छ भन्ने सुन्न आएको छ । यसो हो भने निर्वाचनको वातावरण भाँडिनेछ ।’भन्नुभयो ।
यो षड्यन्त्रकारी मनसायबाट भएको हुनसक्ने भन्दै उहाँले परिपत्र भएको हो कि होइन ? भएको हो भने किन भन्ने सम्वन्धित मन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयो ।लगतै एमाले सांसदहरु उठेर विरोध गरे ।
सभामुख ओनसरी घर्ती मगरले सदनको ध्यानाकर्षण भएको भन्न्दै पटक(पटक बस्न आग्रह गर्दा पनि एमाले सांसदहरुले मन्त्रीले जवाफ दिनुपर्ने अडान राखे । एमालेको अवरोधपछि संसद बैठक स्थगित भएको छ ।

वैशाख १२ गते ।