मुलुक टुक्र्याउने षडयन्त्र कुनै हालतमा पूरा हुन दिन्नौँ : ओली

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुलुक टुक्र्याउने षयडन्त्र कुनै हालतमा पूरा हुन नदिने बताउँदै भारतलाई खुसी पार्न मधेसीका नाममा हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने सरकारको योजना असफल पार्ने बताउनुभएको छ ।
एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको १८ औँ स्मृति दिवसका अवसरमा ललितपुरमा एमालेले गरेको कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले ११ जिल्लामा जनसंख्याका आधारमा स्थानीय तह थप्ने सरकारको तयारी षड्यन्त्रपूर्वका आएको बताउनुभयो ।

ओलीले भन्नुभयो –‘प्रधानमन्त्री प्रचण्डले म सँगको कुराकानीमा चुनावपछि सल्लाह गरेर त्यस विषयमा छलफल गर्न सकिने भने पनि एकलौटी ढंगले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई चिठी लेखेर पठाइसकेको भन्ने कुरा आएको छ । यदि त्यसो हो भने एमाले त्यस्तो षड्यन्त्र पूरा गर्न दिदैन ।’

राष्ट्रबादी नेता मनमोहन अधिकारीको पार्टी एमाले मुलुकमा हुँदाहुँदै चुनाव हुन नदिने, हिमाल ,पहाड टुक्रयाउने दुस्साहस भइरहेको भन्दै ओलीले एमाले रहुञ्जेल त्यस्ता योजना सफल नहुने दावी समेत गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘ जनताका अधिकार स्थापित गर्न चुनाव चाहियो भन्ने पार्टी एमाले हो, तर, एमालेले चुनाव चाहियो भन्दा चुनाव भाड्दैछ भनेर आरोप लगाउन थालेका छन् यो आरोप आरोपमै सिमित हुन्छ भन्ने समेत बुझ्दैनन ।’

तत्कालिन पार्टी अध्यक्ष मनमोहनले नेपाली राजनीतिमा गरेको योगदानको चर्चा गर्दै अध्यक्ष ओलीले राजा, राणा र भारतविरुद्ध लड्दा मनमोहन पटकपटक जेल परेको स्मरण गर्नुभयो ।
५१ सालमा मनमोहन प्रधानमन्त्री भएर नौ महिने सरकार चलाउँदा जति विकास अरु कुनै सरकारले गर्न नसकेको ओलीको भनाई थियो ।केही दलको स्वार्थसिद्धीका लागि संविधान संशोधन गर्न तयार रहने सरकारले प्रमुख प्रतिपक्ष दलको भावनालाई सम्बोधन गर्नुपर्ने उहाँको भनाइ थियो ।

सरकारले यही वैशाख ३१ मा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको बताउँदै उहाँले भन्नुभयो – “सरकारले एकैपटक निर्वाचन सम्पन्न गर्ने निर्णयबाट पछि हटेको छ, बजेटपछि दोस्रो चरणको निर्वाचन गर्न मिल्दैन, बजेट अगाडि चुनाव सम्पन्न गर्नुपर्छ ।”

पूर्वप्रधानमन्त्री ओलीले मुलुकमा प्रजातन्त्रको स्थापनाका लागि मजदुर आन्दोलन, भारतको मुक्ति सङ्ग्रामलाई सफल बनाउन स्व अधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्मरण गर्नुभयो ।

मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीले नेपाल तथा भारतको राजनीतिक विकास क्रममा स्व अधिकारीले पु¥याउनु भएको योगदानको चर्चा गर्नुभयो ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायत अन्य नेताले अधिकारीको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा चढाउनुभएको थियो ।
वैशाख १३ गते ।