पाँच हजार मुस्लिम मतदाताको एउटै प्रतिवद्धता– ‘सबै भोट यो पटक मेयरमा विद्यासुन्दरलाई’

maitrinews

काठमाडौँ । राज्य एकीकरणका बेला हातहतियार निर्माणमा महत्वपूर्ण भूमिका खेलेको मुस्लिम समूदायको इतिहास राज्य एकीकरणसँग पनि जोडिएको छ । मुलुकभरी करिब २० लाख मतदाता रहेको यो समूदाय राजधानीमा मात्र पाँच हजारको हाराहारीमा छ ।
कुनै न कुनै राजनीतिक विचारधारासँग जोडिएको यो समूदाय निर्वाचनका बेला भने एकै ठाउँमा रहने गरेको छ । विचारधारासँग भन्दा पनि मुस्लिम समूदायको हकहितमा काम गर्ने व्यक्ति वा दलका पक्षमा भोट हाल्ने यो समूदायले यही वैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा भने एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाका तर्फबाट मेयरका रुपमा अघि सारिएका विद्यासुन्दर शाक्यलाई हाल्ने निर्णय गरेको छ ।


सोमबार साँझ एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेल, मेयरका उम्मेदवार शाक्यलगायतको उपस्थितिमा मुस्लिम समुदायका अगुवाले यो पटकको निर्वाचनमा एमालेका तर्फबाट मेयरका उम्मेदवारलाई भोट हाल्ने प्रतिवद्धता व्यक्त गरे । ‘हामीले पटक–पटक अरु राजनीतिक दलबाट धोका खाँदै आएका छौँ,’ एक मुस्लिम अगुवाले भन्नुभयो, ‘अन्य पार्टीका तुलनामा एमालेले मुस्लिम समुदायका हकहितमा काम गरेका कारण हामीले निकै विचार गरेर यो पटक काठमाडौँ महानगरपालिकामा एमालेका मेयरका उम्मेदवारलाई भोट हाल्ने निर्णय गरेका हौँ ।’
उहाँले दोस्रो चरणको स्थानीय निर्वाचन जेठ ३१ मा गर्ने निर्णय गरेर सरकाले २० लाख मतदाता रहेका मुस्लिम समुदायको अपमान गरेको पनि आरोप लगाउनु भयो । ‘घटस्थापनादेखि तिहारसम्म कुनै पनि निर्वाचन हुुँदैनन । जेठमा हाम्रो महान चाड रमझानका बेला निर्वाचनको मिति घोषणा गर्नु भनेको २० लाख मुस्लिम मतदाताको अपमान हो । यो विषयमा एमालेले प्रष्ट कुरा राखेकाले हामी प्रभावित भयौँ ।’
उहाँले राज्य एकीकरणका बेलादेखि आफूहरु राष्ट्र र राष्ट्रियताप्रति वफदार रहेको भन्दै राष्ट्रियताका पक्षमा बलियो अडान राख्ने पार्टी पनि एमाले नै भएको दाबी गर्नुभयो ।
एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेलले मुस्लिम लगायत अन्य सबै समूदायको हकहितका लागि सधैँ लडिरहने पार्टी एमाले मात्र भएको दाबी गर्नुभयो । ‘०१५ सालमा भएको निर्वाचनमा कम्युनिष्टले चार सिट जित्दा मुस्लिम समूदायको एक जना अटाउनु भएको थियो,’ उहाँले भन्नुभयो, ‘०५१ सालमा एमालेको नेतृत्वमा सरकार बन्दा मुस्लिम समूदायकै हितमा काम गरेको थियो । हज कमिटीलाई सरकारबाट दिइने रकम वृद्धि गर्ने काम पनि एमालेकै तर्पmबाट वामदेव गौतम गृहमन्त्री हुँदा व्यवस्था गरेको हो ।’
मेयरका उम्मेदवार शाक्यले आफू मेयर निर्वाचित भएपछि मुस्लिम समूदायले गुनासो गर्ने ठाउँ नहुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘अहिले म धेरै भन्दिन,’ उहाँले भन्नुभयो, ‘म मेयर भएपछि तपाईँहरुसँग बसेर छलफल गरेर तपाईँहरुको समूदायको लागि हातेमालो गरेर अघि बढ्छु ।’