विद्यासुन्दरलाई जिताउन फोरमका केन्द्रीय सदस्य एमालेमा प्रवेश
काठमाडौँ । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालले संयुक्तरुपमा काठमाडौँ महानगर पालिकाको मेयरका रुपमा पवित्रमान महर्जनलाई उठाएको छ । संघीय समाजवादी पार्टीले काठमाडौँ महानगरपालिकामा आफ्नो पकड बलियो रहेको पनि दाबी गर्दै आएको छ । तर, त्यही पार्टीका केन्द्रीय सदस्य तथा उपत्यकाको नेवार समुदायका सुपरिचित नेता सानुराजा शाक्य नै सोमबार एमाले प्रवेश गरेपछि सो पार्टीका भोट पनि एमालेमा आउने निश्चित भएको छ ।
एमालेका काठमाडौं महानगरपालिकाका प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यको बृहत् घरदैलो कार्यक्रमको लगनबाट आरम्भ गर्ने कार्यक्रममा नेता शाक्य एमाले प्रवेश गरेका हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर २१ का बासिन्दा शाक्यलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाई पार्टी प्रवेश गराए । करिब चार वर्षअघि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा लागेका उनलाई संघीय समाजवादी फोरमबाट महानगरपालिकाको प्रमुखमा उम्मेदवार बनाउने चर्चा थियो ।
बिहान लगनमा आयोजित कार्यक्रममा नेता शाक्यले एमालेमा आफ्नो हक रहेको बताउँदै बिनासर्त एमालेमा फर्केको बताए । काठमाडौं महानगरपालिकाको प्रमुखमा विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनाएपछि अब एमालेसँग आफ्नो कुनै गुनासो नभएको उनले बताए ।
सो अवसरमा एमाले अध्यक्ष ओलीले शाक्यलाई एमालेको निर्वाचन चिह्न सूर्यको झन्डा हस्तान्तरण गरी निर्वाचनमा एमालेको विजयका लागि प्रचारमा लाग्न आग्रह गरे ।
अध्यक्ष ओलीले महानगरको निर्माण र नवनिर्माणका लागि विगतमा वडाध्यक्ष निर्वाचित भई अनुभव हाँसिल गरिसकेका विद्यासुन्दर शाक्यलाई एमालेले उम्मेदवार बनाएकाले उनलाई जिताउने अभियानमा अन्य दलमा रहेका नेता कार्यकर्तालाई समेत लाग्न, एमालेमा आउन आह्वान गरे ।