राष्ट्रपति कार्यालय शीतल निवासमा शीर्ष नेताहरुबीच छलफल

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ । छलफल नजिकिँदै गरेको स्थानीय चुनाव र संविधान संशोधन विधेयकका विषयमा केन्द्रीत भएको बताइएको छ ।
छलफलमा राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री प्रचण्डले निर्वाचनको तयारीकाबारे जानकारी गराउनुभएको थियो । यस्तै आगामी जेठ ४ गते बस्ने बैठकमा संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने विषयमा पनि प्रचण्डले जानकारी गराउनुभयो ।

भेटका क्रमा राष्ट्रपतिले सहमति र सहकार्य गर्दै अहिले देखिएको समस्याको समाधान गर्नुपर्ने भन्दै स्थानीय चुनाव सफल बनाउन पनि सबै दल एकजुट हुनुपर्ने बताउनुभयो ।

सो क्रममा राष्ट्रपति भण्डारीको आसन्न श्रीलंका र थाइल्याण्ड भ्रमणका सन्दर्भमा पनि छलफल भएको थियो ।
भेटमा प्रचण्डका साथै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राप्रपा नेता लोकेन्द्रबहादुर चन्दलगायतको सहभागिता थियो ।

वैशाख २८ गते ।