सुकराम बन्नुभयो नयाँ उम्मेदवार

 

 

रत्ननगर । चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका–११ मा सुकराम चेपाङ (प्रजा) नयाँ उम्मेदवार बन्नुभएको छ ।

उहाँलाई बिहीबार नै चुनाव चिह्नसमेत दिइएको कालिका नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । सो वडामा दुई दिनपछि आगामी जेठ २ गते मतदान हुनेछ ।

वैशाख २६ गते वर्षासँग परेको चट्याङ लागेर नेकपा (माओवादी केन्द्र)बाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो । रिक्त रहेको ठाउँमा नयाँ उम्मेदवार आउनुपर्ने भएकाले निर्वाचन दुई दिन ढिला गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले वैशाख २८ गते उम्मेदवारको मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली प्रकाशन गरी, चुनाव चिह्नसमेत प्रदान गरिएको जानकारी दिनुभयो ।

त्यो वडामा निर्वाचन कार्यतालिका सार्वजनिक भई जेठ २ गतेका लागि मतदान तोकिएकाले मौन अवधि लागू नभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मतदानको दिनको ४८ घन्टा अघिसम्म उक्त वडामा मात्रै प्रचार गर्न उम्मेदवारलाई छुट रहेको छ ।

सात स्थानीय निकायमध्ये चितवनका पाँच नगरपालिकामा चेपाङको बसोबास बढी रहेको कालिका नगरपालिकामा ५७ जनप्रतिनिधिका लागि २४७ जनाको उम्मेदवारी परेको छ । जिल्लामा एक महानगर र एक गाउँपालिका छ ।