चुनावमा तेस्रो भएपछि धर्मकर्मतिर लागे प्रचण्ड

maitrinews

नवलपरासी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तहको पहिलो निर्वाचन आफूले सोचेजस्तो परिणाम नआएपछि धर्मकर्मतिर लागेका छन ।
उनले शुक्रबार नवलपरासीको शास्वतधाममा पूजाआजा गरे । धर्ममा विश्वास नगर्ने उनी एकाएक धार्मिक बन्न थालेका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय जनता पार्टीसहित सबै राजनीतिक दलको सहभागितामा दोस्रो चरणको निर्वाचन उत्सवमय हुने बताएका हुन् । उनले पहिलो चरणको निर्वाचनलाई आफूले उत्सवको रुपमा लिएको बताए ।

स्थानीय तह दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेका लागि तोकिएको छ । गत वैशाख ३१ गतेको निर्वाचनको मत परिणाम आउने जारी छ । पछिल्लो परिणामअनुसार एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

उद्योगी, व्यवसायी विनोद चौधरी सिर्जनात्मक मान्छे भन्दै प्रधानमन्त्रीले सरकारको तर्फबाट आवश्यक परे सहयोग गर्न तयार रहेको समेत आश्वासन दिए ।
छोरा प्रकाशसहित हेलिकप्टरमा आएका दाहालले शुक्रबार बिहान नवलपरासीको दुम्कौलीस्थित शास्वत धाम पूजाआजा गरे । उक्त धाम चौधरी ग्रुपले निर्माण गरेको हो । पूजाआजापछि प्रधानमन्त्री दाहालले निजी क्षेत्रबाट भव्य धाम निर्माण गरेको भन्दै आफू प्रभावित भएको बताए ।