प्रचण्डको औचित्यहीन राजीनामाले थपिएको अन्योल
डा.अजयक्रान्ति शाक्यबाट—काठमाडौँ । नेपाललमा कम्युनिस्ट आन्दोलनको बदनाम हुनेगरी हिंसात्मक राजनीति गरी दोस्रो पटक प्रधानमन्त्री बनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० महिना शासन गरे । यो अवधिमा चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण कार्यक्रम रोकी भारतको भक्ति गर्नुबाहेक उनले उल्लेख्य काम गरेनन् । पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा संकटकाल घोषणा गरी एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने कार्यक्रम सार्वजनिक गरेकोमा त्यसैको निरन्तरता स्वरुप लोडसेडिङ हटेकोमा प्रचण्डले त्यसको स्वामित्व आफूले लिन खोजेकामात्र हुन् । स्थानीय तहको एकै चरणमा चुनाव गराउनुपर्ने नेपाली जनताको मागलाई बेवास्ता गर्दै कडा दबावकाबीच दुई चरणको चुनाव घोषणा गरी एक चरणको चुनावसम्म गराएका उनको देखिने काम भनेको यतिमात्र हो । वास्तवमा उनले चुनाव गराउन चाहेकै थिएनन् । चुनाव गराए जनमत एमालेका पक्षमा छ नराम्ररी आफ्नो पार्टीले हार्छ भन्ने डर मओवादी काँग्रेस दुवैलाई थियो । विभिन्न बहाना बनाएर चुनाव टार्ने पक्षमा थिए उनीहरु । तर एमाले र आम जनताको दबाबले चुनाव गराए तर एकआपसमा गठबन्धन गरी चुनावी तालमेल गरे पनि एमालेसँग नराम्ररी पराजित भए । पोखरा लेखनाथ महानगरपालिकामा काँग्रेस माओवादी गठबन्धन १४ हजारभन्दा बढी मत अन्तरले पराजित भयो । मुलुकको राजधानी काठमाडौँमा ऐतिहासिक हार खाए प्रचण्डले । तीन महिनाअघि चर्चामा आएकी युवती रञ्जु न्यौपानेले ल्याएको मतभन्दा आधाभन्दा कम मत ल्याई अत्यन्तै लज्जास्पद पराजय भोगेका प्रचण्ड कति लोकप्रिय रहेछन्,उनको गठबन्धन सरकरले गरेका काम कति राम्रा रहेछन् भन्ने कुरा घामजत्तिकै छर्लङ्ग भएको छ तर पनि उनले राजीनामा दिने क्रमममा आफूले जति राम्रो काम यसअघि कसैले पनि गर्न नसकेको र आफू अत्यन्तै सफल प्रधानमन्त्री भएको आत्मरति भाषण दिन पछि परेनन् । उनलाई लाजै छैन दिउँसै रात पर्छन् ।
प्रचण्ड र माओवादी पार्टीलाई नेपालीले मन पराउँदैनन् भन्ने कुरा उनकै नेतृत्वले गराएको चुनावमा भोगको पराजयले स्पष्ट पारिसक्दा पनि आफ्नो कमजोरी नदेख्ने प्रचण्डलाई आगामी राजनीति अरु चुनौतीपूर्ण बन्ने देखिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवासँग गरेको भद्र सहमति अनुसार बाँडीचुँडी सत्ता चलाउने र मुलुक लुट्ने कुरालाई पनि उनले उचित समयमा पालना गरेनन् । कि उनले राजीनामा दिनु थियो भने पहिलो चरणको निर्वाचनअघि नै राजीनामा दिनुपथ्र्यो कि दोस्रो चरणको निर्वाचन गराएरमात्र सरकार छाड्नु पथ्र्यो । उनले मुलुकलाई चरम अप्ठेरो अवस्थामा पारेर, अन्योल र अस्थिरता बढाउने ढंगले मनपरी काम गरेर राजीनामा दिए, गहन जिम्मेवारीबाट पञ्छिने गल्ती गरे । यो राजीनामाले देउवालाई सत्तामा पुर्याउनेबाहेक अरुको हित गर्दैन । यो राजीनामाले उनलाई झन् अनैतिक, अपरिपक्क र सन्की नेता बनायो यही रुपमा नेपाली जनताले लिएका छन् ।
विना कारण १७ हजारभन्दा बढी नेपालीको हत्या गरेर नेपाललाई हिंसाको आहालमा डुबाएका प्रचण्ड र बाबुरामको कथित जनयुद्धले नेपाल तहसनहस भएको कुरा सबैसामु लुकेको छैन । उनीहरुले गरेको हिंसाको राजनीति नेपालका लागि थिएन र यसले नेपालको हित गर्दैन भन्ने कुरा बल्ल यस पटकको स्थानीय तहको पहिलो चरणको चुनावमा दुवैलाई पराजित गरेर नेपाली जनताले गतिलो जबाफ दिएका छन् । माओवादी पार्टीलाई भत्केको घर भन्दै पार्टी पोरेर नयाँ पार्टी बनाएका बाबुराम भट्राईलाई एक सिटमा सीमित गरिदिएका नेपाली जनताले प्रचण्डको शेखी पनि तोडिदिए । अब यही पाराले चल्ने हो भने माओवादी इतिहास बन्नेछ ।
प्रचण्डले १० महिने शासन कालमा संविधान र कानुनको खिल्ली उडाए । अपराधलाई संस्थागत गर्दै चरम अपराधीलाई उन्मुक्ति दिने काम गरे । टीकापुर घटनाका अपराधीलाई उन्मुत्ति दिने निर्णय मन्त्रिपरिषद्बाट गराउनु उनको सबैभन्दा घृणित काम हो । नेपाली सुरक्षाकर्मीहरुको मनोबल गिराउने र अपराधीलाई प्रोत्साहन गर्ने यो निर्णयप्रति सुरक्षा निकायले कडा आपत्ति जनाइसकेको छ र यसविरुद्ध सर्वोच्चमा मुद्दासमेत दायर भएको छ । प्रचण्डले देउवासँग मिलेर स्वतन्त्र न्यायालयमाथि ठाडो हस्तक्षेप गरे । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि औतित्यहीन महाभियोग लगाए । भारतको इसारामा संविधान संशोधन गराई ५ नम्बर प्रदेश टुक्र्याउने असफल प्रयास गरे । आम जनताको चर्को दबाव र एमालेका अडानका कारण यो प्रयास सफल भएन र संविधान संशोधान प्रस्ताव फिर्ता लिन वाध्य भए र फेरि दोस्रो संविधान संशोधन प्रस्ताव संसद्मा लगी पास गराउने प्रयास गरे पनि सफल भएनन् । यही असफलताकाबीच निर्वाचन आचारसंहिताविपरीत पछिल्लो पटक २२ वटा स्थानीय तहको संख्या थपेर फेरि चुनाव सार्ने निर्वाचन आयोगलाई दवाव दिए तर उनले राजीनामा गरिसकेपछि उनको दबाव प्रभावहीन बन्दैछ । आयोगले जेठ ३१ मै चुनाव गर्ने बताएको छ । थपिएका स्थानीय तहमा चुनाव गराउन नसकिने भनी आयोगले सरकारलाई पत्र पठाएको छ ।
अर्कोतिर प्रचण्ड सरकारले २२ वटा स्थानीय तह थप गरे पनि मधेसी दलहरुको गठबन्धन गरी बनेको राष्ट्रिय जनता पार्टी नेपालले त्यसलाई अस्वीकार गर्दै स्थानीय निर्वाचन बिथोल्ने गरी बहिष्कारको आन्दोलन घोषणा गरेको छ । यसले गर्दा दोस्रो चरणको निर्वाचन केही प्रभावित हुने देखिएको छ । चुनावदेखि डराएको माओवादी काँगे्रस गठबन्धन सरकार यही निहुँ बनाएर घोषित चुनाव स्थगित गर्नसक्छ जनताले चर्को खबरदारी नगर्ने हो भने । प्रचण्ड र देउवालाई देश र जनताको माया छैन । आफ्नो स्वार्थका लागि जे पनि गर्नसक्छन् । सबैतिर असफल भएका प्रचण्डले अहिले नैतिकवान भएको देखाउँदै राजीनामा दिएर झन् आफैलाई कमजोर बनाउने काम गरेका छन् । उनले राजीनामा दिएर गर्वको अनुभव कसैले गरेन् । देउवाबाहेक अरुले स्यावासी दिएनन् । उनले नेपाली जनताको विश्वास गुमाए,उत्तरी छिमेकी चीनको विश्वास गुमाए र दक्षिणी छिमेकी भारतको विश्वासपात्र बन्न अनैतिक काम गरे,देशविरोधी काम गरे तर अब उसको पनि विश्वास गुमाउँदै छन् । अन्त्यमा मधेसी दल पनि उनीप्रति सकारात्मक बनेनन् । कमसेकम उनले घोषणा गरिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गराएर, संसद्मा पेश गरिएको प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव फिर्ता लिएर,संसद्मा पेस भएको संविधान संशोधन विधेयकको टुंगो लगाएर,सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गराई मुलुकलाई सहज निकास दिने बाटो बनाएर राजीनामा दिएका भए उनको हाइट केही बढ्थ्यो । एमालेले, काँग्रेसका देउवाइतरका नेताहरुले प्रचण्डलाई जेठ ३१ गते अघि राजीनामा नदिन आग्रह गर्दा उनले वास्ता गरेनन् । सन्कीको भरमा राजीनामा दिएर प्रचण्डको हाइट बढेन झन् घटाउने काम गरे । एउटा कुशल नेताले मुलुकलाई अन्योल र अप्ठेरोमा पारेर राजीनामा दिदैन । प्रचण्डको यो मूल्यहीन राजीनामाले अन्योल बढाउने काममात्र गरेको छ ।