जलवायु परिवर्तनका विषयमा सहमति गर्न असफल

इटली। जी-सेभेन समूहका धनी राष्ट्रहरुले इटलीमा जारी जीसेभेन समूहको शिखर सम्मेलनमा जलवायु परिवर्तनका विषयमा सहमति गर्न असफल भएका छन्।

अमेरिका बाहेकका ६ वटा देशले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्यारिस सहमति लागू गर्ने कि नगर्ने भनेर निर्णय गर्नका लागि समय दिने एकजना श्रोतले बताएका छन्।

ट्रम्पले आफ्नो पहिलो विदेश भ्रमणका क्रममा पहिलोपटक जीसेभेनको शिखर सम्मेलनमा भाग लिएका छन्।

जी-सेभेन समूहले आतंकवाद विरुद्धको एउटा वक्तव्यमा सहमति गरेको छ  । 

समूहका ६ वटा देशका नेताले प्यारिस सहमति भनिएको हरितगृह उत्सर्जन घटाउने उद्देश्यको संसारको पहिलो विस्तृत सहमतिप्रति आफ्नो समर्थनको पुनर्पुष्टि गरेका छन्।

विश्वव्यापी तापक्रम वृद्धिलाई छल भनेर बेवास्ता गर्ने गरेका ट्रम्पले यो भन्दा अघि त्यो सहमति कार्यान्वयन नगर्ने धम्की दिएका थिए।

सन् २०१५ मा गरिएको प्यारिस सहमतिलाई समर्थन गर्ने कि नगर्ने भनेर आफूले निर्णय गरि नसकेको उनले ब्रिटेन, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापानका नेतालाई बताएका छन्।

त्यस विषयमा आगामी हप्ता निर्णय गर्ने भनेर ट्रम्पले ट्वीट गरेका छन्।