षड्यन्त्रको मतियार नबन्न मुख्य निर्वाचन अधिकृतलाई एमालेको चेतावनी

maitrinews

 

चितवन । नेकपा एमाले सचिव प्रदीप ज्ञवालीले भरतपुर महानगरपालिकामा खटिएका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।

मतगणना निरन्तरताको मागसहित एमाले चितवनले जिबिस अस्पताल चोकमा आयोजना गरेको धर्ना कार्यक्रमलाई आज सम्बोधन गर्दै ज्ञवालीले षड्यन्त्रको मतियार नबन्न मुख्य निर्वाचन अधिकृतलाई चेतावनी दिनुभयो । ‘निर्वाचन अधिकृतले आफू ट्‍वाइलेट गएको बेला मतपत्र च्यातियो भन्नुहुन्छ, अर्कोतिर मतपत्र कब्जा भयो भनेर प्रतिवेदन लेख्नुभयो’ ज्ञवालीले प्रश्न गर्दै भन्नुभयो, ‘अनि ट्‍वाइलेट गएको बेला कसरी कब्जा भएको देख्नुभयो तपाईंले ?’

निर्वाचन अधिकृतलाई चेतावनी दिँदै भन्नुभयो, ‘षड्यन्त्रको मतियार नबन्नोस् । तपाईं न्यायाधीश, न्यायमूर्ति हो । कुनै पार्टीको प्रवक्ता वा कार्यकर्ताजस्तो भएर बोल्न सुहाउँदैन । त्यो कुरा एमालेका लागि मञ्जुर छैन ।’ भरतपुरको विषय जित, हारको नभएको भन्दै उहाँले लोकतन्त्र रहने हो कि होइन भन्ने प्रश्न भएको बताउनुभयो ।
आइतबार राति माओवादी केन्द्रका नेता, कार्यकर्ताले भरतपुर महानगरमा मतपत्र च्यातेपछि गणना रोकिएको छ । कांग्रेस र माओवादीले भरतपुरको १९ नम्बर वडामा पुनः मतदान हुनुपर्ने माग गरेका छन् ।
एमालेले मतगणनाको माग गर्दै जिल्लामा विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएको छ भने यही विषयलाई लिएर बुधबार संसद् बैठक समेत चल्न दिएन । भरतपुर महानगर मेयरमा कांग्रेस–माओवादी गठबन्धनबाट रेणु दाहाल र एमालेका देवी ज्ञवाली चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।