दरबार हत्याकाण्ड भएको १६ वर्ष : राजा वीरेन्द्रको सम्झना

maitrinews

 

काठमाडौँ । तत्कालीन राजा वीरेन्द्रको वंश नास हुने गरी गराइएको दरबार हत्याकाण्ड भएको १६ वर्ष भएको छ । २०५८ साल जेठ १९ गते राति सो हत्याकाण्ड भएको थियो । आज राजा वीरेन्द्रको सम्झना गरिँदै छ । हत्याकाण्ड भएको नारायणहिटीस्थित त्रिभुवन सदन अबको डेढ वर्षमा निर्माण हुने भएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले त्रिभुवन सदन पूर्ण रूपमा नष्ट गर्न लगाएका थिए ।

नारायणहिटी दरबार संग्रहालयका अनुसार त्रिभुवन सदन पुरानै शैली र संरचनामा तयार हुँदै छ । दुईतले भवनको पहिलो तलाको निर्माण सकिएको छ । दोस्रो तला निर्माणको काम धमाधम भइरहेको संग्रहालयले जनाएको छ ।

संग्रहालयका प्रमुख रोहितकुमार ढुंगानाले त्रिभुवन सदनका भित्री र बाहिरी स्वरूप पुरानोजस्तै बनाउन लागिएकाले निर्माणमा केही समय लाग्ने बताए । उनले भने, ‘त्रिभुवन सदन पूर्ण रूपमा नष्ट गरिएको थियो । पछि फेरि निर्माण गर्ने निर्णय भयो । अहिले धमाधम काम काम हुँदै छ,’ ढुंगानाले भने, ‘त्रिभुवन सदन पूर्ण रूपमा बन्न अझै डेढ वर्ष लाग्छ । पुरानै झल्को दिने गरी बनाइने हुँदा मिहिनेत र समय पनि धेरै लाग्छ ।’

संग्रहालयका अनुसार त्रिभुवन सदन निर्माण चार करोड रुपैयाँ लागतमा हुँदै छ । त्यसमध्ये दुई करोड रुपैयाँ भवनमा र दुई करोड रुपैयाँ भित्री डेकोरेसनमा खर्च हुनेछ । अहिलेसम्म डेढ करोड रुपैयाँ खर्च भइसकेको छ । संग्रहालयका प्रमुख ढुंगानाले भने, ‘भवन निर्माणसँगै डेकोरेसन पुरानै शैलीमा गरिने हुँदा खर्च धेरै लाग्ने भएको हो । डेकोरेसनपछि सदन पहिलेको जस्तै देखिनेछ ।’
संग्रहालयका अनुसार सदन निर्माण अवधि तीन वर्षको हो । निर्माणकार्य डेढ वर्ष अघिदेखि हुँदै छ । डेकोरेसनका लागि मात्रै थप दुई वर्ष लाग्ने भएको सबै निर्माण सक्न पाँच वर्ष लाग्नेछ । ढुंगानाले भने, ‘सदन निर्माणको कुल अवधि पाँच वर्षको हो । त्यसमध्ये दुई वर्ष डेकोरेसनमै जान्छ । जस्ताको तस्तै बनाउनुपर्ने भएकाले डेकोरेसनमा धेरै समय लाग्ने देखिएको हो ।’
तत्कालीन राजा ज्ञानेन्द्रले नासोका रूपमा सरकारलाई बुझाएको श्रीपेच अझै सार्वजनिक नगरिने भएको छ । सुरक्षा प्रबन्ध नमिलेकाले श्रीपेच सार्वजनिक गर्न ढिलाइ भएको नारायणहिटी दरबार संग्रहालयका प्रमुख रोहितकुमार ढुंगानाले बताए ।
सर्वसाधारणका लागि श्रीपेच सार्वजनिक गर्ने भनिएको थियो । सुरक्षा प्रबन्धका कारण यस्तो भएको हो । श्रीपेच राख्ने ठाउँको सुरक्षा विश्लेषण गर्न सकिएको छैन,’ ढुंगानाले भने, ‘सबै व्यवस्थापन नभएकाले श्रीपेच सार्वजनिक हुन अझै समय लाग्छ ।’ नारायणहिटी दरबार संग्रहालयमा रूपान्तरण भएलगत्तै श्रीपेच सर्वसाधारणका लागि सार्वजनिक गरिने भनिएको थियो ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाड्ने वेला २९ जेठ ०६५ मा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई श्रीपेच जिम्मा लगाएका थिए । अहिले श्रीपेच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सेनाको नारायणहिटी बाहिनी र संग्रहालयको सुरक्षामा छ ।
२०५८ जेठ १९ को दरबारको कहालीलाग्दो घटनाले नेपाली र नेपालका शुभचिन्तकहरूको मनमा चोटमात्र पुर्‍याएन । त्यसपछि देशको राजनीतिको शृंखलाबद्ध उतार–चढावले अनेकतामा एकताको सूत्रमा रमाएको नेपालको राष्ट्रियता आजको दिनमा आइपुग्दा कमजोर भएको महसुस हुनथालेको छ । यसको जिम्मेवार राजा वीरेन्द्र पछिका सबै तह र तप्काका नेतृत्वहरू नै हुन् भनिएमा कुनै अत्युक्ति नहोला । त्यसैले त आज नेपाली र नेपालका शुभचिन्तक विदेशी मित्रहरू राजा वीरेन्द्रलाई नै झलझली सम्झिरहेका छन् । यसै सन्दर्भमा केही महिनाअघि नेपालको औपचारिक भ्रमणमा आएका चिनियाँ रक्षामन्त्रीले नेपालको रक्षा मन्त्रालयमा भएको औपचारिक छलफलमा पटक–पटक राजा वीरेन्द्रको सम्झना गर्दै उहांँको जस्तो नेतृत्व नेपालको आवश्यकता भएको उल्लेख गरेका थिए । आज नेपालमा मियो बिनाको राजनीतिको दाइँ हेर्दा नेपालीको मन–मनमा राजा वीरेन्द्रको सम्झना हुने गरेको छ ।
नेपालको माटो सुहाउँदो, सामाजिक संरचना नबिग्रनेगरी समसामयिक अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा मेल खानेगरी प्रजातान्त्रिक राजनीतिक विकासमा आफ्नो शासनकालको सुरुदेखि अन्त्यसम्म अनवरत रूपमा लागेका राजा वीरेन्द्रका कैयौं उदाहरण छन् । २०३३ सालमा राजा वीरेन्द्रसँग राष्ट्रिय मेलमिलाप गर्ने नीतिअनुरुप विश्वेश्वरप्रसाद कोइरालाको नेपाल आगमन, २०३६ सालमा जनमत संग्रहको घोषणा, २०४७ सालमा विश्वको लोकतान्त्रिक पद्धतिसँंग मेल खानेगरी दक्षिण एसियाका देशहरूमा भएका भन्दा पनि उच्च स्तरको संविधान निर्माणमा राजा वीरेन्द्रको अतुलनीय सहभागिताको प्रशंसा हुँदै आएको छ । २०३३ सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीतिअनुरूप राजा वीरेन्द्रसँगै सहकार्य गरी नेपालको समग्र विकास गर्ने अठोटसाथ नेपाल आउन खोज्दा अरुले यसो नगर्नुस्, राजा वीरेन्द्र अप्रजातान्त्रिक घेराभित्र छन् ।

तपाईंमाथि अराष्ट्रिय तत्त्वको आरोप छ । लहडबाजीमा मृत्युदण्ड भयो भने रु भन्दा बीपीले वीरेन्द्र राजा भएपछि आजसम्म भएका राजाका निर्णयमा मलाई यस्तो एउटा राजाको निर्णय भन्नुस्, जुन लहडबाजीमा भएको छ । यसरी बीपीको राजा वीरेन्द्रमाथि नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकासको लागि पूर्ण विश्वास र भरोसा रहेको देखिन्छ । यतिमात्र हैन, बीपीले भनेका थिए– राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुनसक्छ र प्रजातन्त्रको जग देशको आर्थिक विकास न्यायपूर्ण आर्थिक व्यवस्था भए मात्र बलियो हुनसक्छ । यसमा राजा वीरेन्द्रको विमति होला भन्ने लाग्दैन ।