शेरबहादुर देउवा आज मुलुकको ४० औँ प्रधानमन्त्री बन्दै

maitrinews

काठमाडौँ । व्यवस्थापिका संसद्‍मा आज बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री चयन हुँदैछन्।
भरतपुरमा भएको निर्वाचनकाण्डलाई लिएर लगातार संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमाले सदन खोल्न राजी भएपछि प्रधानमन्त्री चयन गर्ने बाटो खुलेको हो।
योसँगै प्रधानमन्त्री पदका एक्ला उम्मेदवार कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको नयाँ कार्यकारी प्रमुख बन्ने निश्चित भएको छ ।
देउवाका समर्थक र प्रस्तावकले संसद्‍मा बोल्ने र त्यसपछि प्रधानमन्त्री चयनको प्रक्रिया शुरु हुने संसद् सचिवालयले जनाएको छ।
संवैधानिक प्रावधान अनुसार एक्लो उम्मेदवार भए पनि देउवाले आफ्नो पक्षमा स्पष्ट बहुमत देखाउनुपर्नेछ।
माओवादी केन्द्रको समर्थन त यसै पनि भयो। चौथो ठूलो दल राप्रपा, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम र राजपा नेपालको पनि समर्थन प्राप्त भइसकेको छ।
प्रधानमन्त्री चुनिएपछि आजै देउवा नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरिएको बताइएको छ।