इटहरी काँग्रेसमा भाँडभैलो, देउवा पक्षलाई टिकट दिएपछि सडकमै नाराबाजी

maitrinews

 

इटहरी । इटहरी उपमहानगरपालिकाको मेयरमा रोहित प्रसाईलाई उम्मेदवार बनाएपछि काँग्रेसमा खौलाबैला मचिएको छ । मेयरका दाबेदार हेमकर्ण पौडेलका कार्यकर्ताले टिकट नपाएपछि सडकमा उत्रेर विरोध प्रदर्शन गरेका छन् ।
मेयरको टिकट पाउने प्रसाई कांग्रेसका क्रियाशील सदस्य हुन् । उनी उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छन् ।
उम्मेदवार छनौट कार्यदलले विहीबार अपरान्ह देउवा पक्षधर मानिने प्रसाईलाई इटहरी उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
इटहरी उपमहानगरपालिकाको मेयरका आकांक्षीमा इटहरी नगर सभापति हेमकर्म पौडेल मुख्य दाबेदारका रुपमा रहेका थिए ।
कार्यदलले प्रसाईलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेल समर्थकले निर्णय तत्काल सच्याउन कार्यदललाई चेतावनी दिएका छन् ।
रामचन्द्र पौडेल पक्षधर मानिने पौडेललाई मेयरको उम्मेदवार नबनाएको खण्डमा पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका छन ।
इटहरी कांग्रेसको ठूलो जनमत पौडेलका पक्षमा उभिएको पाइन्छ । ट्रेड युनियन कांग्रेसका पूर्वाञ्चल उपाध्यक्ष ज्योति कोइरालाले पार्टीले तत्काल नसच्याएर पार्टी विरुद्ध आन्दोलन गर्ने बताए ।
त्यस्तै नेविसंघका २ नम्बर क्षेत्रीय सभापति टंक दाहालले पनि पार्टीले निस्किय मान्छेलाई उठाएर पार्टीले आफ्नै पार्टीलाई हराउन लागेको आरोप लगाए ।

उनीहरुले कांग्रेसले इटहरीको मेयरको उम्मेदवार बनाउने सवालमा गलत निर्णय गरेकाले त्यसविरुद्ध आन्दोलन गर्न पनि बताएका छन् ।
नगर सभापति एवं मेयरका आकांक्षी रहेका पौडेलले भने आफूले दुई दशकदेखि पार्टी राजनीतिमा लागेर पनि पैसा र पावरको भरमा टिकट दिएकोप्रति गुनासो गरे । उनले आफूले पार्टीप्रति गरेको योगदानको कदर नभएको बताएका छन् ।