उपभोक्ता मूल्यवृद्धि ३.४ प्रतिशत कायम

maitrinews

काठमाडौं । चालु आर्थिक बर्षको वैशाख महिनामा उपभोक्ता मुल्यवृद्धि ३.४ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७३ वैशाख महिनामा सो मुद्रास्फीति १० प्रतिशत रहेको थियो । गत वर्षको आधार मूल्यको प्रभाव र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको छ ।
समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९.६ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा १३.४ प्रतिशत, तरकारीको मूल्यमा १३.१ प्रतिशत र घ्यू तथा तेलको मूल्यमा १.९ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १२.७ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १०.७ प्रतिशतले वृद्धि
भएको छ ।
समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति १०.४ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, सञ्चार र स्वास्थ्य लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ४ प्रतिशत, तराईमा ३.६ प्रतिशत, हिमालमा २.८ प्रतिशत र काठमाडौं उपत्यकामा १.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ११ प्रतिशत, तराईमा ८.६ प्रतिशत, हिमालमा ९.१ प्रतिशत र काठमाडौं उपत्यकामा ११.५ प्रतिशत रहेको थियो ।