विमलेन्द्रको डिजाइनमा कांग्रेस र राजपा दुबै फसे : पोखरेल

maitrinews

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाली कांग्रेसको व्यक्तिगत स्वार्थका कारण स्थानीय निर्वाचन चौथो पटक सरेको आरोप लगाउनु भएको छ ।
प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीले शुक्रवार केन्द्रीय कार्यालय थापागाउँमा गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो आरोप लगाउनु भएको हो । उहाँले चुनाव हार्ने भएपछि कांग्रेसले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) लाई प्रयोग गरेको समेत अरोप लगाउनु भयो ।
‘कांग्र्रेसको योजनामा राजपा प्रयोग भयो,’ पोख्रेलले भन्नुभयो, ‘मैले भन्न मिल्छ कि मिल्दैन । तर,भन्नै पर्ने हुन्छ । कांग्रेसमा पनि चुनाव सार्ने प्रमुख डिजाइनर पूर्वगृहमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधी नै हुन् ।’
पोख्रेलले केही दिन अघि मात्र कांग्रेसले आफू निकटका मधेसका सांसद् र नेताहरुलाई बोलाएर चुनाव सार्ने तयारी गरेको पनि खुलासा गर्नुभयो ।
‘बिचरा राजपालाई देखाइएर अहिले कांग्रेसले चुनाव सारेको जस्तो देखाएको छ । त्यसमा माओवादीको हात छ कि छैन त्यो बेग्लै कुरा भयो,’ पोख्रेलले भन्नुभयो, ‘तर, कांग्रेसले मधेसमा हार्ने निश्चित भएपछि आफ्नो प्रभाव बढाउन चुनाव सार्ने डिजाइन गरेको हो । फेरि पनि भन्छु, यो षडयन्त्रका डिजाइनर पूर्वगृहमन्त्री बिमलेन्द्रजी नै हुन् ।’
महासचिव पोखरेलले २ नम्बर प्रदेशमा चुनाव सारिएको विषयलाई जनताकाबीचमा लैजाने र दोस्रो चरणको चुनावमा यसलाई सत्तापक्षको भण्डाफोरको एजेण्डा बनाइने पनि बताउनु भयो । ‘एमालेले तेस्रो चरणको निर्वाचनमा भाग लिन्छ कि लिदैँन भन्ने प्रश्न उठ्न सक्छ,’ पोख्रेलले भन्नुभयो, ‘हामी चार पटक निर्वाचन सार्ने काम सत्ता पक्षले किन गरिरहेको छ भनेर मधेशका जनताका बीचमा जान्छो । उनीहरुलाई किन मतदान अधिकार बन्चित गरियो त्यसको पनि हामी भण्डाफोर गर्छौ ।’

उहााले असोजमा चुनाव सार्नु भनेको चुनाव नगराउने षडयन्त्र भएको भन्दै मधेशका जनतालाई सत्तापक्ष विरुद्ध उतार्ने चेतावनी पनि दिए । चुनाव सार्दा दूरगामी असर पर्छ,’ उहाँले भन्नुभयो, ‘यसरी निर्वाचन सार्दा प्रदेश र केन्द्रीय निर्वाचनमा पनि असर पुग्छ ।
पोख्रेलले निर्वाचन सार्दा एमालेसँग मात्र नभई निर्वाचन आयोगसँग समेत सल्लाह नगरेको भन्दै संसदको म्याद थप्ने षडयन्त्रले त्यसो गरेको हुन सक्ने आशंका व्यक्त गर्नुभयो। ‘जनप्रतिनिधि संस्थालाई भङ्ग गर्नेहरु अहिले सत्तामा छन् । त्यसैले उनीहरुले त्यो प्रयास नगर्लान भन्न सकिन्न,’ उहाँले भन्नुभयो, ‘एमाले त्यसमा सजग छ । कुनै पनि हालतमा त्यो प्रयास सफल हुन दिदैनौँ ।’
उहाँले पहिलो चरणमा तीन प्रदेशमा भएको निर्वाचनमा एमाले पहिलो भएको भन्दै दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो नै हुने दाबी गर्नुभयो । ‘एमालेले दोस्रो चरणको चुनावमा पहिलो चरणको भन्दा राम्रो परिणाम ल्याउँछ,’ उहाँले भन्नुयो, ‘हामीले बिभिन्न रिपोर्ट र हाम्रो शक्तिको आधारमा भनेका छौं,दोस्रो चरणमा पहिलो चरणको भन्दा राम्रो परिणाम ल्याउँछौं । बहुमत प्राप्त गर्छौं ।’
दोस्रो चरणमा हुने तीन प्रदेशमा रहेको एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकामा तालमेल हुने संकेत गर्नुभएको छ । ‘हामीले. अहिले त्यहाँ मेयर मात्र तोकेका छौँ,’ उहाँले भन्नुभयो, ‘त्यसले पनि थाहा हुन्छ । एमाले त्यहाँ तालमेल गर्न चाहन्छ ।’

उपेन्द्र यादवको संघीय फोरमसँग तालमेल हुन सक्ने सम्भावना कत्तिको छ भनी सोधेको प्रश्नमा उहाँले भन्नुभयो– तालमेलको ढोका खुला राख्नकै लागि उपमेयर उम्मेदवार नउठाइएको हो । कुन पार्टीसँग तालमेल गर्ने भन्ने टुंगो लोगेको छैन । कसैसँग गर्यौँ भने तपाईँहरुलाई थाहा भैहाल्छ नि ?’

उहाँले एमाले देशभरी आफ्नै सामथ्र्यमा चुनाव लड्न सक्ने भएको भन्दै सत्ताधारीहरुले देशभर गठबन्धन गरिरहेका बेला विराटनगरमा तालमेलको सम्भवना हुनुलाई अनौठौ मान्नु नुहुने बताउनु भयो ।