प्रदेश नं. १,५ र ७ मा उम्मेदवारी दर्ता शान्तिपूर्णरुपमा सम्पन्न

maitrinews

 

 

काठमाडौं । आज दोस्रो चरणमा तीन प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता छिटपुट घटनाबाहेक शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । आज प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा उम्मेदवारी दर्ता गरिएको हो । निर्वाचनको विरोधमा राष्ट्रिय जनता पार्टी नेपालले बन्दको आह्वान गरे पनि त्यसको प्रभाव परेन ।
निर्वाचन आयोगले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको थियो । १, ५ र ७ नम्बर प्रदेशमा असार १४ गते चुनाव हुनेछ । १ महानगर, ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा दोस्रो चरणमा असार १४ गते चुनाव हुन लागेको हो । प्रदेश नम्बर २ मा भने असोज २ गते चुनाव गराउने निर्वाचन आयोगले निर्णय गरेको छ । प्रदेश नम्बर ३, ४ र ६ मा भने गत बैशाख ३१ गते चुनाव भएको थियो । र, भरतपुर महानगरपालिका बाहेकका सबै स्थानीय तहको परिणाम पनि सार्बजनिक भइसकेको छ ।
प्रदेश नम्बर १, ५ र ७ मा ६४ लाख ३२ हजार ७६५ मतदाता छन् । यी मतदाताले निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि चुन्नेछन् ।
चुनाव गराउनका लागि ३६४ मतदान केन्द्र तोकिएका छन् । सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी चुनाव गराउन खटाइएको निर्वाचन आयोगले जनाएको छ ।