राजपा कोषाध्यक्ष यादव एमाले प्रवेश, ओलीले भन्नुभयो– प्रदेश नं. २ मा पनि एमाले नै पहिलो हुन्छ

maitrinews

 

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)लाई कार्डका रुपमा प्रयोग गरेर कांग्रेस–माओवादीले प्रदेश नम्बर दुईको निर्वाचन असोज २ का लागि सारेको आरोप लगाउनु भएको छ । राष्ट्रिय जनता पार्टीका कोषाध्यक्ष अनिता यादवसहितको टोलीलाई एमाले प्रवेश गराउँदै उहाँले यस्तो आरोप लगाउनु भएको हो । उहाँले एमाले अलमल्याउने झुक्याउने पार्टी नभएको भन्दै जनता जुधाउने नभई जनता मिलाउने पार्टी भएको पनि दाबी गर्नुभयो । तीन प्रदेशको निर्वाचन सम्पन्न भएपछि केही प्रदेशमा मात्र स्थानीय तह बढाउने भन्ने कुरा गैर संवैधानिक कुरा भएको पनि उहाँले दाबी गर्नुभयो । ‘हामी संविधान संशोधनका विपक्षमा होइनौँ तर जनताको अधिकार खोस्ने गरी गरिने संशोधनका पक्षमा एमाले छैन,’ उहाँले भन्नुभयो, ‘बलजफ्ती देशलाई अहितको बाटोमा लैजाने ढंगले गर्न खोजिएको संविधान संशोधनका पक्षमा एमाले छैन, एमाले त्यस्तो पार्टी होइन ।’
उहाँले एमाले वैमनश्यतालाई अन्त्य गर्ने पार्टी भएको पनि दाबी गर्नुभयो । ‘सहकार्यका साथ देशलाई अघि बढाउने पार्टी हो । एमाले राष्ट्रिय एकता र सद्भावका पक्षमा छ,’ उहाँले भन्नुभयो, ‘ राष्ट्रियताका पक्षमा कसैसँग सौदावाजी गर्दैन । एमाले लोकतन्त्रका मूल्यमान्यता र लोकतन्त्रप्रति विश्वास गर्ने पार्टी हो ।’
उहाँले असमझदारी बढाउन सजिलो भए पनि समझदारी कायम गर्न असजिलो हुने भन्दै एमाले समझदारीका पक्षमा रहेको बताउनुभयो ।
उहाँले एमाले देशलाई सम्वृद्धितर्फ लैजाने कुरामा सचेत भएको पनि बताउनुभयो । उहाँले त्यसका लागि एकताबद्ध भएर अघि बढ्ने बताउनुभयो । त्यसका लागि, उद्योग पर्यटन, विदेश नीतिहरुमा जोड दिने पनि बताउनुभयो ।
नेपाल एमाले सधैँव सत्ताशिन पार्टी भएको पनि दाबी गर्नुभयो । ‘एमालेलाई अहिले ०७० सालको चुनावलाई आधार मानेर प्रमुख प्रतिपक्षी भनिएको हो,’ उहाँले भन्नुभयो, ‘तर, स्थानीय तह, प्रदेश र केन्द्रीय निर्वाचनपछि एमाले प्रमुख प्रतिपक्षी हुँदैन । त्यसपछि एमाले सत्तापक्ष हुन्छ ।’
उनले प्रदेश नम्बर दुईमा पनि एमाले नै पहिलो पार्टी बन्ने दाबी गर्नुभयो ‘त्यसका लागि असोज २ गतेसम्म पर्खिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि सबैलाई थाहा हुने गरी एमाले प्रदेश नम्बर दुईमा पनि पहिलो पार्टी बन्छ ।’
मधेसीलाई एमाले अध्यक्षले विदेशी भन्यो भनेर आरोप लगाउने गरेको भन्दै त्यो असत्य भएको पनि दाबी गरे । ‘एमालेले आफ्ना दाजुभाई, दिदी बहिनीहरुलाई विदेशी भन्छ होला,’ उहाँले भन्नुभयो, ‘कुनै पनि नेपालीलाई एमालेले भारती, चाइनीज वा भुटानी भन्दैन ।’
कार्यक्रममा एमाले प्रवेश गर्दै यादवले मधेसी जनताको पक्षमा एमाले भएको भन्दै एमाले प्रवेश गरेको बताउनुभयो । राजपाले मधेसी जनताको पक्षमा काम गर्न नसक्ने उहाँको दाबी थियो ।