एमाले कार्यकर्ता रावतको हत्या विरोधमा मार्तडी बन्द

maitrinews

बाजुरा । स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ताका लागि छेडेदह गाउँपालिकामा जुलुसमा सहभागी नेकपा एमाले कार्यकर्ता हंसबहादुर रावतको काँग्रेसका कार्यकर्ताले आक्रमण गरी हत्या गरेका छन् । हत्याको विरोधमा दोषीलाई कारबाही माग गर्दै एमालेले आज सदरमुकाम मार्तडी गराएको छ ।

मङ्गलबार जिल्ला प्रशासन कार्यालय बाजुरामा रावतको हत्या गर्ने काँग्रेस कार्यकर्तालाइ कारबाही गर्नका लागि प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझाएको दोेस्रो दिन बिहानदेखि नै बजार बन्द गरेको एमाले बाजुराले जनाएको छ । मनोनयन दर्तामा गएका बेला रावतलाई ढुङ्गा हानेर हत्या गरेको भन्दै आज जिल्लाका मार्तडी, कोल्टीलगायतका बजार क्षेत्रमा बन्द गर्दै आन्दोलनका कार्यक्रम गर्ने एमाले बाजुराका प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिनुभएको छ ।
उहाँले रावतको हत्या गर्नेलाई कारबाही प्रक्रिया नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताउनुभयो । यता नेपाली काँग्रेस बाजुराले पनि मङ्गलबार नै नेपाली काँग्रेसका नेता धनराज पण्डितको नेतृत्वमा एक टोलीले रावतको हत्या नगरेको र आफैँ दमको रोगी भएकाले बेहोस भई मृत्यु भएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको नेपाली काँग्रेस जिल्ला सभापति कविराज पण्डितले बताउनुभएको छ ।
उहाँले रावतको हत्या नभई बेहोसमा मृत्यु भएकाले राजनीतिक प्रश्रय दिएर आन्दोलन गर्नु व्यर्थ भएको पण्डितको भनाइ रहेको छ । पण्डितले निर्दोषी छेडेदह गाउँपालिकाका प्रमुखका उम्मेदवार नरबहादुर रावत, नेपाली काँग्रेसका नेता पदमबहादुर रावत र देवबहादुर रावतलाई रिहा गर्न माग गरेको बताउनुभयो । बजार बन्दसँगै आन्दोलन तयारी भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । आन्दोलनमा बजार तोडफोड र तनावग्रस्त हुने भएकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोली बजारमा पठाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिनुभएको छ ।