आचारसंहिताविपरीत प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा,सिंहदरबार खाली

maitrinews

काठमाडौं । निर्वाचन आचारसंहिताविपरीत दोस्रो चरणको निर्वाचनमा मतदान गर्ने निहुँमा प्रधानमन्त्रीसहित बहालवाला मन्त्रीहरु आफ्नो गृह जिल्ला तथा निर्वाचन क्षेत्रतर्फ लागेका छन् ।
निर्वाचन आचारसंहिता लागिरहेका बेला पनि राज्यकोषको दुरुपयोग गर्दै बहालवाला मन्त्रीहरु चुनावी अभियानमा पार्टीका लागि भोट मागिरहेका छन् भने अब चुनावको दिनसम्म गृह जिल्ला तथा आप्mनो क्षेत्रमा अड्डा जमाएर बस्न लागेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार ७ नम्बर प्रदेशतर्फ लागे । डडेलधुराको गन्यापधुरा गाउँपालिका वडा नं १ का मतदाता देउवा प्रदेश नं ७ का विभिन्न चुनावी कार्यक्रममा सहभागी हुँदै छन् । देउवा अब १४ गते चुनावमा मतदान गरेपछिमात्र राजधानी फर्कने छन् ।

त्यसैगरी उपप्रधानमन्त्री विजयकुमार गच्छदार सुनसरीको दुहवी नगरपालिका मतदाता रहेका गच्छदार पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुँदै १४ गते मतदान गरेर मात्रै काठमाडौं फर्किने उनी निकट स्रोतले जानकारी दियो ।

त्यसैगरी उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा रोल्पा नगरपालिका वडा १ रोल्पा मतदाता हुन् । उनी यसअघि पनि पाँच नम्बर क्षेत्रका विभिन्न चुनावी कार्यक्रममा सहभागी भएका थिए । उनी पनि आफ्नो गृह जिल्लातर्फ लागेका छन् ।
गृहमन्त्री जनार्दन शर्मा बिहीबार क्षेत्रीय सुरक्षा बैठकमा सहभागी हुन विराटनगर पुगे । बिहीबार नै उनले झापाको चुनावी सभामा भाग लिए ।
त्यसैगरी अर्थमन्त्री ज्ञानेन्द्र कार्की भोजपुको षडानन्द नगरपालिकाका मतदाता हुन् । कांग्रेसको उत्तरपूर्वी क्षेत्रका नेता कार्की शुक्रबार चुनावी कार्यक्रमकै लागि पूर्वका जिल्लातर्फ लागे । उनी आफ्नो गृह जिल्ला भोजपुर जाने बताइएको छ ।
यसरी सबैजसो बहालवाला मन्त्री चुनावी कार्यक्रम र मतदानका लागि आफ्नो क्षेत्रतर्फ लाग्दा मन्त्रालय भने खाली भएका छन् । निर्वाचनको समयमा मन्त्रीहरु चुनावी कार्यक्रममा सहभागी हुन नपाउने निर्वाचन आचारसंहितामा भए पनि मन्त्रीहरु आफूखुसी चुनावी सभामा हिँडेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीहरु नै चुनावी अभियानमा लाग्दा निर्वाचनको स्वच्छता र निस्पक्षता माथि प्रश्न उठ्ने भन्दै आचारसंहितामा मन्त्रीहरुले कुनै उमेदवारको पक्ष वा विपक्षमा मत माग्न नपाउने उल्लेख गरिएको छ।