तीनवटै प्रदेशमा मतदाता परिचयपत्र वितरण गरिँदै

 

 

काठमाडौँ । बुधबार हुने दोस्रो चरणको स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले आजदेखि तीन दिनसम्म सबै मतदान केन्द्रबाट मतदाता परिचयपत्र बाँड्न शुरु गरेको छ।
पहिलो चरणको निर्वाचनमा केही प्राविधिक कारणवश कतिपय स्थानमा मतदाता परिचयपत्र बाँड्न नसकेकोले आलोचना भोगेको आयोगले यसपटक शत प्रतिशत मतदाता परिचयपत्र वितरण गर्ने गरी तयारी गरेको अधिकारीले बताएका छन्।
दोस्रो चरणअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३३४ वटै स्थानीय तहका ८,००० बढी मतदात केन्द्रबाट मतदाता परिचयपत्र बाँड्नका लागि आवश्यक जनशक्ति सम्पूर्ण सामग्रीसहित उपस्थित भइसकेको आयोगले बताएको छ।
बढीमा दुई घण्टाको दुरी तय गरी हरेक मतदाता निर्वाचन केन्द्रमा पुग्न सक्ने गरी व्यवस्था गरिएको बताइएको छ।
अनुकूल
बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदाता परिचयपत्र वितरण गर्ने कार्यतालिका भए पनि मतदान केन्द्रको परिस्थिति अनुकूल हुने गरी समय तय गरिएको छ ।