काठमाडौँ महानगरका मेयरसहितको प्रतिनिधिमण्डल र अख्तियार पदाधिकारीबीच महत्वपूर्ण छलफल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको नेतृत्वको टोलीले बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुसँग भेटी महत्वपूर्ण विषयमा छलफल गरेको छ ।
दिउँसो साढे बाह्र बजे भएको उक्त भेटघाट कार्यक्रममा काठमाडौँ महानगरपालिकाको विकास निर्माण कसरी गर्ने साथै पारदर्शी प्रशासन र भ्रष्टाचारमुक्त सुशासनको स्थापना विषयमा गहन छलफल भएको टोलीमा सहभागी डा. अजयक्रान्ति शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार सो अबसरमा काठमाडौँ महानगरपालिकासँगसँगै काठमाडौँ जिल्लाको समग्र विकास र समन्वय साथै सुशासन कायम गराउने विषयमा पनि गहन विचारविमर्श भयो ।
सो अवसरमा मेयर शाक्यले काठमाडौँ महागरपालिकाका गतिविधिबारे जानकारी गराउनुभएको थियो । सुन्दर,सफा,हराभरा काठमाडौँ महानगर बनाउने अभियानमा लाग्नु भएका मेयर शाक्यले समग्र विकास निर्माणको कार्यममा विभिन्न निकायबीच समन्वय हुननसक्दा ढिलासुस्ती र अवरोध भएकोमा अख्तियार पदाधिकारीहरुको ध्यानाकर्षण गराउँदै यस्तो समन्वयको अभाव कसरी हटाई राजधानीवासीको हितमा काम गर्ने वातावरण बनाउन सकिन्छ भन्ने विषयमा सहयोगका लागि आयोग पदाधिकारीहरुसँग आग्रह गर्नुभयो ।
छलफलमा सहभागी अख्यियारका प्रमुख आयुक्त दीप बस्न्यातलगायत अन्य आयुक्तहरुले काठमाडौँ महानगरको समस्या समाधान गर्न विभिन्न सुझाव दिनुभएको थियो ।
मेयर शाक्यसहितको सो प्रतिनिधिमण्डलमा सांसद रामवीर मानन्धर, हिमालयन टेलिभिजनका अध्यक्ष ललित अग्रवाललगायत सहभागी हुनुहुन्थ्यो ।