३३२ स्थानीय तहको परिणाम सार्वजनिक : एमाले   १४९, काँग्रेस १२२ र माआवादी ३८ स्थानमा विजयी

काठमाडौं । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये ३३२ स्थानको मतगणना सकिएको छ । अब २ स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ ।
जम्मा २ स्थानीय तहको मत परिणाम बाँकी रहदा एमालेले कांग्रेसलाई २८ सिट पछि पारेर पहिलो चरणमा जस्तै दोस्रो चरणको स्थानीय चुनावमा पनि पहिलो स्थान सुरक्षित गरेको छ ।
पहिलो चरणमा कांग्रेसलाई २१ सिट पछि पारेको एमालेले दोस्रो चरणमा अन्तर अझ फराकिलो पार्ने देखिएको छ ।
कांग्रेसले दोस्रो चरणमा एमालेलाई पछि पारेर पहिलो चरणको क्षतिपूर्ति लिने लक्ष्य राखेको थियो । धेरै ठाउँमा कांग्रेसले माओवादी लगायतका दलसँग तालमेल समेत गरेको थियो । तर दोस्रो चरणमा एमालेले कांग्रेसलाई अझ पछि पारेको छ ।

अहिलेसम्म १४९ स्थान जितेर नेकपा एमाले अग्रस्थानमा छ । मतगणना भइरहेका २ स्थानमा एमालेको अग्रता छ ।
दोस्रो दल बनेको नेपाली कांग्रेसले १२२ स्थान जितेको छ ।

त्यस्तै माओवादी केन्द्र ३८ स्थानीय तह जितेर तेस्रो स्थानमा रहेको छ ।
संघीय समाजवादी फोरमले ८ स्थानीय तह जितेर चौथो स्थान सुरक्षित गरेको छ ।
फोरम लोकतान्त्रिकले पनि ६ स्थान जितेको छ । राप्रपाले ४ स्थानीय तह जितेर छैटौं स्थानमा रहेको छ भने राष्ट्रिय जनमोर्चा २ स्थानीय तह जितेर सातौं स्थानमा छ ।
राष्ट्रिय जनता पार्टीले चुनाव बहिस्कार गरे पनि स्वतन्त्र उम्मेदवार बनेका राजपा नेताले २ स्थानीय तहमा जितेका छन् । त्यस्तै फोरमबाट टिकट नपाएपछि बागी उठेका एकजनाले कृष्णनगर नगरपालिका कपिलबस्तुको मेयर जितेका छन् ।