निगमलाई भुटानको विमान भाडामा नल्याउन निर्देशन

maitrinews

काठमाडौ । सरकारले हवाई नीतिको अस्पष्टता सुल्झाउन नसकेपछि नेपाल वायुसेवा निगमले ल्याउने तयारी गरेको भुटान एयरलाइन्सको एउटा विमान भाडामा नल्याउन निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमलाई यस्तो निर्देशन दिएको हो । मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले अहिले बाहिर सतहमा आएको हवाई नीतिको अस्पष्टता नसुल्झाईकन भुटान एयरलाइन्सको विमान भाडामा ल्याएर सञ्चालन गर्दा भोलि विवाद उत्पन्न हुन सक्ने भन्दै सो विमान नल्याउने निर्णय शुक्रबार गरेका थिए ।
मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले आफुँग भएको पुरानो एउटा बोइङ ७५७ विमान नियमित मर्मत (सि–चेक) कालागि सिंगापुर पठाउनुपर्ने आफ्नो नियमित अन्तर्राष्ट्रिय उडान केही कटौती गर्नुपर्ने बाध्यात्मक अवस्था आएपछि भुटानको एउटा विमान भाडामा लिएर उडान सञ्चालन गर्नकालागि भुटान एयरलाइन्ससँग सम्झौता गरेको थियो । लगातार तीनपटकसम्म आह्वान गरिएको ’ग्लोबल टेन्डर’ मा भुटान एयरलाइन्स र युक्रेनको एक वायुसेवाबाट कम्पनीले मात्र टेन्डर हालेको थियो । ति दुईमध्ये सबैभन्दा राम्रो भुटान एयरलाइन्स भएपछि निगमले भुटानलाई नै रोजेको थियो ।