अनेरास्ववियुद्वारा बाढीपीडितलाई सहयोग

maitrinews

काठमाडौँ  । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) ले रामेछापस्थित लिखु गाउँपालिकाका–१ खिम्तिका बाढी प्रभावितलाई राहत सहयोग उपलब्ध गराएको जनाएको छ । 

संगठनले खाद्य सामग्री, ब्लाङ्केट, टेन्ट तथा प्राथमिक स्वास्थ्य उपचार सामग्रीलगायत संकलन गरी घटनास्थलमा पुगेर उनीहरुलाई सहयोग गरेको हो । 

पीडितलाई सहयोग उपलब्ध गराउने उद्देश्यले अनेरास्ववियुका अध्यक्ष नवीना लामाको नेतृत्वमा मङ्गगलबार त्यसतर्फ गएको एक टोली राहत बाँडेर सोही दिन साँझ काठमाडौँ फर्केको थियो । 

गत शनिबार गएको बाढीपहिरोबाट त्यस क्षेत्रका स्थानीयवासी प्रभावित भई दुःख कष्ट भोग्नुपरेको, खुल्ला आकाशमुनि सुत्नु परेको खबर आएपछि अनेरास्ववियुले पीडितलाई राहत वितरण गर्न विभिन्न स्रोत परिचालन गरी सामग्रीको व्यवस्थापन गरेको हो । 

अनेरास्ववियुका अध्यक्ष लामाले दैवी प्रकोपका कारण गाँस र बास गुमाउन बाध्य भएका नेपालीलाई मानवीय सहयोग उपलब्ध गराएको जनकारी दिनुभयो । 

मुलुकमा संविधान निर्माण, संविधान जारी तथा संविधान कार्यान्वयनमा रचनात्मक सहयोग गर्दै आएको संगठनले विद्यार्थी आन्दोलनका साथै महँगी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरणका लागि विशेष दबाबमूलक कार्य गर्दै आएको छ । 

यसअघि सो संगठन तथा युवा संघलगायतले सप्तरीको तिलाठीको दैवी प्रकोपमा पनि राहत उपलब्ध गराएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताउनुभयो । 

रामेछापमा भएको घटनामा पाँचजनाको मृत्यु तथा २५ घरपरिवार प्रभावित रहेको संगठनले जनाएको छ ।