कहालीलाग्दो वैदेशिक अध्ययनको यात्राः यो वर्ष मात्रै करिब ५१ हजारले लिए नो अब्जेक्सन लेटर

maitrinews

 

मोहन बास्तोलाबाट—काठमाडौँ ।  वैदेशिक रोजगारीमा जानेहरुको सङ्ख्या वृद्धि भैरहेका बेला वैदेशिक अध्ययनका लागि आवेदन दिनेहरुको सङ्ख्यामा पनि दिन प्रतिदिन वृद्धि भएको तथ्याङ्कले देखाएको छ । वैदेशिक अध्यययनका लागि विभिन्न देशमा जानका लागि शिक्षा मन्त्रालयबाट यो वर्ष मात्रै ५० हजार ६ सय ५९ जनाले ‘नो अब्जेसन लेटर’ लिएका छन् ।वैदेशिक अध्ययनका लागि अष्टे«लियामा जानेको सङ्ख्या सबै भन्दा बढी देखिएको छ । यो वर्ष मात्रै अष्टे«लियामा अध्ययनका लागि जान भनेर २४ हजार २ सय ३३ जना ले ‘नो अब्जेसन लेटर’ लिएका छन् । त्यसपछि जापान जानेको सङ्ख्या दोस्रो स्थानमा छ । जापानका लागि १० हजार ४ १६ जनाले ‘नो अब्जेसन लेटर’ लिएको शिक्षा मन्त्रालय छात्रवृत्ति शाखाले जानकारी दिएको छ ।  युएसएका लागि ३ हजार ४ सय ८३ र भारतको अध्ययनका लागि २ हजार दुई सय ९ जनाले ‘नो अब्जेसन लेटर’ लिएको तथ्याङ्क छ । त्यसपछि चाइना, पोल्याण्ड, क्यानडा र बंगलादेशको अध्यययनका लागि ‘नो अब्जेसन लेटर’ लिनेको सङ्ख्या बढी देखिएको छ । यो वर्ष मात्रै चाइनका लागि १ हजार ३ सय ६०, पोल्याण्डका लागि १ हजार १ सय ८०, क्यानडाका लागि ७ सय २६, बंगला देशका लागि ६ सय ८ जनाले ‘नो अब्जेसन लेटर’ लिएका छन् ।  जर्मनीका लागि ५ सय ९७, डेनमार्कका लागि ९ सय ८८, साउथ कोरियाका लागि ८ सय ८३, न्युजिल्याण्डका लागि ४ सय ७६, साइप्रसका लागि ४ सय २५ र फ्रान्सका लागि ३ सय २४ ले ‘नो अब्जेसन लेटर’ लिएको तथ्याङ्क छ ।  छात्रवृत्ति शाखाको २०६७÷०६८ देखिको तथ्याङ्कलाई हेर्ने हो भने हरेक वर्ष वैदेशिक अध्ययनका लागि जानेको सङ्ख्यामा वृद्धि भएको छ । २०६७÷०६८ मा ११ हजार ९ सय ८२ जनाले ‘नो अब्जेसन लेटर’ लिएको देखिन्छ । २०६८÷०६८९ को तथ्याङ्कलाई हेर्ने हो भने केही कमी देखिन्छ । त्यो वर्ष १० अजार ३ सय २४ जनाले मात्र ‘नो अब्जेसन लेटर’ लिएको देखिन्छ । २०६९÷०७० मा १६ हजार ५ सय ४ जनाले र २०७०÷०७१ मा २८ हजार १ सय २६ ले नो अब्जेसन लेटर लिएको देखिन्छ ।  २०७१÷०७२ मा ३० हजार ६ सय ९६, २०७२÷०७३ मा ३८ हजार ४ सय ८९ र २०७३÷०७४ मा ५० हजार ६ सय ५९ जनाले ‘नो अब्जेसन लेटर’ लिएको देखिन्छ ।  आर्थिक वर्ष २०७३÷०७४ मा हरेक महिना ‘नो अब्जेसन लेटर’ लिनेको सङ्ख्यामा थपघट भएको देखिन्छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३÷०७४ को साउन महिनामा ३ हजार ८३, भदौ महिनामा ४ हजार १ सय २१,  असोज महिनामा २ हजार ६ सय ५९ र कात्तिक महिनामा २ हजार २ सय ३९ जनाले वैदेशिक अध्ययनका लागि नो अब्जेसन लेटर लिएको देखिन्छ । आर्थिक वर्ष २०७३÷०७४ को मंसिर महिनामा ४ हजार ४ सय ३५, पुस महिनामा ३ हजार ८ सय ७९, माघ महिनामा ३ हजार पाँच सय २, फागनु महिनामा ७ हजार, चैत महिनामा ४ हजार ७ सय १९ र वैशाख महिनामा ३ हजार ५ सय ७६ जनाले नो अब्जेसन लेटर लिएका छन् । आर्थिक वर्ष २०७३÷०७४ कै जेठ महिनामा ६ हजार ७ सय ८६ र असारमा ४ हजार ४ सय १६ जनाले नो अब्जेसन लेटर लिएको देखिन्छ ।  अष्ट्रेलियाका लागि भिसा आवेदन गर्दा ५ सय ६० अस्ट्रेलियन डलर अर्थात् करिब ४५ हजार रुपैयाँ शुल्क लाग्ने देखिन्छ । नो अब्जेसन लेटर लिएको सबै अष्टे«लिया जानको हो भने त्यसको हिसाव निकै हुन्छ । तर, वर्षको अघिल्लो ११ महिनामा अस्ट्रेलियाका लागि भिसाका लागि ११ हजार ६ सय २८ जनाले आवेदन दिएको देखिन्छ ।  यद्यपि ९ हजार चार सय ६२ ले भिषा प्राप्त गरेको तथ्याङ्क छ । यसलाई आधार मान्ने हो भने अस्ट्रेलियाको मात्रै हिसाब गर्दा करिब एक अर्ब बिदेसिएको देखिन्छ । दोस्रो आकर्षक गन्तव्य जापानमा भिसा लागिसकेपछि मात्र प्रतिविद्यार्थी दुई हजार नौ सय १० रुपैयाँ शुल्क लाग्छ । जापानका लागि ९५ प्रतिशत आवेदन सफल हुने गरेको कन्सल्टेन्सी व्यवसायीहरुको भनाइलाई आधार मान्ने हो भने  करिब १० हजार विद्यार्थीको भिसा लाग्दा २९ करोडको हारहारीमा पैसा विदेश गएको अनुमान गर्न सकिन्छ । अमेरिकामा भिसा लागिसकेपछि नो अब्जेक्सन लेटर लिने व्यवस्था छ । अमेरिकाको भिसा प्रक्रियामा एक नेपाली विद्यार्थीको करिब ५८ हजार खर्च हुन्छ ।  यसलाई आधार मान्ने हो भने अमेरिकामा आर्थिक वर्ष २०७३÷०७४ का लागि ३ हजार ४ सय ८३ जना विद्यार्थीले नो अब्जेसन लेटर लिएका छन् ।  त्यसको आधारमा भिसाका लागि मात्र २० करोड २० लाखको हारहारीमा रकम बाहिरिएको अनुमान गर्न सकिन्छ । जर्मन, क्यानडालगायतका देशमा पनि धेरैको सङ्ख्यामा विद्यार्थी वैदेशिक अध्ययनका लागि गएको देखिन्छ । यी सबैको हिसाव गर्ने हो भने अर्ब भन्दा माथि पैसा विदेश गएको अनुमान गर्न सकिन्छ  । किन वाहिरिन्छन् वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थी ?  नेपालको अस्थिर राजनीति, अध्ययन गरेर पनि आफूले चाहेको जस्तो जागिर नपाउने चिन्ता आदिका कारण वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थी बाहिरिएको अनुमान गर्न सकिन्छ । नो अब्जेक्सन लेटर शाखाका प्रमुख डिल्लीश्वर प्रधान पनि यो सत्यलाई स्वीकार गर्नुहुन्छ । यद्यपि यसको औपचारिक अध्ययन नभएको उहाँको जिकिर छ । विदेशी डिग्री लिएमा अन्तराष्ट्रिय श्रमबजारमा प्रमाणपत्र विक्ने मोह पनि प्रमुख कारण हुन सक्ने उहाँको अनुमान छ ।  छिमेकी र नातेदारका छोराछोरी विदेशमा पढ्न जाँदा पर्ने मनोवैज्ञानिक दबाबले आफ्ना छोराछोरी पनि पठाउने प्रवृत्तिका कारण पनि वैदेशिक अध्ययनमा जानेको सङ्ख्या बढेको हुन सक्ने उहाँको अनुमान छ । ‘विदेशमा पढ्दै आफ्नो खर्च जुटाउन र बचाउन पनि सकिने अवस्था भएकाले पनि त्यतातिरको मोह बढी भएको हुनसक्छ,’ उहाँले भन्नुभयो ।