अन्तिम समयमा काँग्रेसमा किचलो,मन्त्रिपरिषद् विस्तार हुन सकेन
काठमाडौँ । नेपाली कांग्रेसभित्रको किचलोका कारण मंगलबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्काबीच भागवण्डा नमिलेर मन्त्री बन्नेको नामलाई अन्तिम रुप दिन नसकिएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको हो । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । कांग्रेस नेताहरु मंगलबार बिहानैदेखि गृहकार्यमा जुटेपनि भागवण्डा मिल्न नसकेको कांग्रेस स्रोतले बतायो ।
कांग्रेसमा सभापति देउवा पक्षबाट मिन विश्वकर्मा, वीरबहादुर बलायर, अर्जुन जोशी, अम्बिका बस्नेत, पौडेल पक्षबाट बलबहादुर केसी, रामकृष्ण यादव राजन (राजेन्द्रबहादुर) केसी, सरिता प्रसाईं वा कमला पन्तमध्ये एकजना, सिटौला समूहबाट भीमसेनदास प्रधान र खुमबहादुर खड्काको कोटाबाट मोहनबहादुर बस्नेत मन्त्री बन्ने चर्चा छ ।
माओवादीले पनि मन्त्रीको नाम टुंग्याएको बताए पनि सार्वजनिक गरेको छैन । स्रोतका अनुसार माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपालीलगायतको नाम मन्त्रीको लिस्टमा समावेश भएको चर्चा छ । लोकतान्त्रिक फोरमले भने यसअघि नै मन्त्री भएका जितेन्द्र देव र गोपाल दहितलाई पठाउने भएको छ ।
मन्त्रालय बाँडफाँट टुंगियो
कांग्रेस
रक्षा
सूचना तथा सञ्चार
भौतिक पूर्वाधार तथा यातायात
सिँचाई
खानेपानी तथा सरसफाई
कृषि विकास
सहकारी तथा गरिबी निवारण
कानुन
युवा तथा खेलकुद
वाणिज्य
माओवादी केन्द्र
उर्जा
स्वास्थ्य
सामान्य प्रशासन
आपूर्ति
पशुपन्छी विकास
महिला, बालबालिका तथा समाजकल्याण
लोकतान्त्रिक फोरम
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
भूमिसुधार तथा व्यवस्था
नेकपा संयुक्त
जनसंख्या तथा वातावरण
अन्य दलका लागि
उद्योग
वन तथा भू-संरक्षण
विज्ञान तथा प्रविधि
शान्ति तथा पुनर्निर्माण