कास्कीमा पहिरो, ११ वटा घरमा क्षति, गाईभैँसी पुरिए

maitrinews

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान पाथेगाउँमा पहिरो जाँदा ११ घर बिस्थापित भएका छन् । गएराति करिब ९ बजेतिर गाउँमाथिको ढिस्को खसेर पहिरो जाँदा त्यहाँ रहेका १३ घरमध्ये ११ घरमा क्षति पुगेको हो ।

पहिरोले घर पुरिएर बिस्थापित हुनेमा देवीलाल लामिछाने, दिननाथ पौडेल, नरबहादुर विश्वकर्मा, काजी विश्वकर्मा, जंगबहादुर विश्वकर्मा, गंगाबहादुर विश्वकर्मा, धनकाजी विश्वकर्मा, हिमलाल भुषाल, गंगा आचार्य, चन्द्रबहादुर परियार, प्रविण लामिछाने र प्रेमबहादुर विश्वकर्मा रहेका छन् । राति भागेर ज्यान जोगाएका उनीहरुले छिमेकी गाउँमा रात बिताएका थिए । अहिले भने नजिकैको चौरमा आफूहरु बसिरहेको बिस्थापित मध्येका एक देवीलाल लामिछानेले  जानकारी दिए । पहिरोले घर बस्न नहुनेगरी भत्काएको लामिछानेले बताए । घरको छाना, गाह्रो केही पनि बाँकी नरहेको उनको भनाइ छ । पहिरोले मानवीय क्षति नभए पनि गाईभैंसी पुरेको तथा स्थानीय सरस्वती मन्दिर, माछापोखरी, पोल्ट्री फार्म तथा एक्यापको नर्सरी पुरेको लामिछानेले जानकारी दिए ।

रिभानमा अहिले पनि पानी परिरहेकाले बिस्थापितहरु मानवीय संकटमा परेका छन् । पहिरो गएर ११ घर बिस्थापित भएको खबर प्रहरीलाई गरे पनि नजिकको रिभानको खहरेखोला बढेर तर्न नसकेकाले प्रहरी, उद्धारकर्ता र रेडक्रस पुग्न सकेको छैन ।