भारतीय विदेशमन्त्री स्वराजको निर्देशनपछि राजपा चुनावमा जान सहमत, संविधान संशोधन गर्न फेरि प्रयास गरिने

maitrinews

काठमाडौँ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको आश्वासन र निर्देशनपछि राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलीय नेताहरू चुनावमा जाने भएका छन् । उनीहरुले भारतीय विदेशमन्त्री स्वराजसँग भेटवार्ता गरेपछि सरकारसँग छलफल गरी चुनावमा जाने नाटक मञ्चन गरेका हुन् ।
सोल्टी होटेलमा राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्षमण्डलका सदस्यहरू राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत्सिंह भण्डारी, राजकिशोर यादव र अनिल झाले विदेशमन्त्री स्वराजसँग भेटवार्ता गरेका थिए ।
सो भेटवार्तामा भारतीय विदेशमन्त्री स्वराजले ६ मधेशकेन्द्रित दलहरुबीच एकीकरण भई राजपा नेपालको गठन गरेको भन्दै बधाई समेत दिएको स्रोतले जनाएको छ ।
स्वराजसँगको भेटवार्तापछि बालुवटारमा सत्तारुढ दल र राजपावीचको वार्ता भयो । वार्तामा भएको सहमतिले अव मधेशमा राजपासहितको चुनाव हुने भएको छ
छलफलमा राजपा नेताहरुले सरकारलाई संविधान संशोधन विधेयक निर्णायर्थ पेश गर्न आग्रह गरेअनुसार सरकारले आइतबारै सो विधेयक निर्णायर्थ पेश गर्ने सहमति भएको गृहमन्त्री जनादर्न शर्माले जानकारी दिए ।
त्यस्तै छलफलमा जनआन्दोलन र जनयुद्धका घाइते तथा शहिदलाई बराबर क्षतीपुर्ति दिने सहमति पनि भएको छ । त्यसैगरी राजपाका नेता कार्यकर्तामाथि लगाएको मुद्धा फिर्ता र फैसला भएको मुद्धाको विगो पनि सरकारले लिने सहमति भएको गृहमन्त्री शर्माले बताए ।
यो सहमतिसँगै राजपा नेपाल असोज २ मा हुने २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा सहभागि हुने निश्चित भएको छ ।
प्रधानमन्त्रीले बोलाएको बैठकमा सत्ताघटक दलका सवै शीर्ष नेताका साथै राजपाका अध्यक्ष मण्डलका ६ जनै शीर्ष नेता सहभागी थिए । बैठकबाट बाहिरिने क्रममा राजपा नेताहरु उत्साहित देखिएका देखिए । ‘यो सहमतिसँगै अव हामी चुनावमा जाने ढोका खुल्यो, हामी अव निर्धक्कसाथ चुनावमा जान्छौ ।’ राजपा नेता महेन्द्र यादवले भने, ‘सरकार हाम्रामागमा संवेदनशिल भएको पायौँ, अव हामी पनि चुनावमा होमिन्छाँै ।’
यादवका अनुसार सरकारले यहि महिनाभित्र गरेका सहमति पुरा गर्नेछ भने राजपा अव चुनावमा केन्द्रीत हुनेछ । राजपाले यसअघि राखेका धेरै माग सरकारले पुरा गरिसकेको छ भने केही पुरा गर्ने क्रममा रहेका थिए । उसले पछिल्लो समय संविधान सशोधन नभए चुनावमा नजाने निर्णय गरेको थियो । बालुवाटारमा भएको यो सहमतिसँगै राजपा बैठकले अव पुन चुनावमा जाने निर्णय गर्ने छ ।

यस अघि हिजो मात्र सर्वोच्च अदालतले तराई मधेशमा स्थानीय तहको संख्या थप्ने संकेत गरेपछि राष्ट्रिय जनता पार्टी नेपालले खुशी व्यक्त गरेका थिए ।
अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले सर्वोच्च अदालतको यो कदमले स्थानीय तहको चुनावमा भाग लिने बाटो खुलेको बताएका थिए ।

उनले भने, ‘अब सरकारले सविधान संशोधन विधेयक निर्णयार्थ पेस गरी चुनावको वतावरण बनाउनुपर्छ, संसदबाट आउने परिणामलाई स्वीकार गर्दै हामी चुनावमा भाग लिन्छौ ।’ महासचिव केशव झाले पनि अब चुनावको वतावरण तयार भइरहेको बताए ।

स्थानीय तहको संख्या थप गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिट बिहिबार खारेज गरेको थियो ।

सरकारले केही समयअघि तराई र मधेशमा २३ वटा स्थानीय तह थप गर्नुका साथै विराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो।

सरकारको निर्णयविरुद्ध अधिवक्ता धनबहादुर श्रेष्ठ र कृष्णचन्द झाले सर्वोच्चमा दायर गरेको रिट विहीबार प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले उक्त रिट खारेज गरेको हो । रिटको खारेजीपछि अब मधेसमा स्थानीय तहको संख्या बढाउने बाटो खुलेको छ ।