बाढीपहिरोमा ४७ जनाको मृत्यु, ३६ जना बेपत्ता,२० जना घाइते

maitrinews

 

बाढीपहिरोमा ४७ जनाको मृत्यु, ३६ जना बेपत्ता,२० जना घाइते

काठमाडौँ । अविरल वर्षाका कारण मुलुकभर गएको पहिरो र बाढीका कारण ४७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार आइतबार बिहान पौने ११ बजेसम्ममा देशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानबाट ४७ को मृत्यु, ३६ बेपत्ता र २० जना घाइते भएका छन् ।
प्रभावित क्षेत्रबाट विवरणहरु संकलन गर्ने क्रम जारी रहेको भन्दै मन्त्रालयले हताहतीको संख्या बढ्न सक्ने जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेका अनुसार तराई र मध्य पहाडी क्षेत्रका जिल्लाहरु सबैभन्दा बढी प्रभावित छन्।
अविरल वर्षाका कारण बाढीपहिरो प्रभावित क्षेत्रमा राहत पुर्याउन तथा उद्धार कार्य गर्न अप्ठ्यारो परिरहेको अधिकारीहरुले बताएका छन्।
प्रवक्ता काफ्लेले मौसम खराब भएपछि कतिपय प्रभावित स्थलमा सुरक्षाकर्मी पुग्न नसकेको बताए।
उद्धार तथा राहत कार्यमा हेलिकप्टर खटाउन कठिनाइ भइरहेको जनाइएको छ।

अविरल वर्षापछि विराटनगर विमानस्थल डुबानमा परेको छ
कतिपय स्थानमा विद्युत आपूर्ति बन्द भएका खबरहरु प्राप्त भएका छन्।
मेची र कोशीका अधिकांश जिल्लामा शनिबार बिहानैदेखि विद्युत सेवा काटिएको बीबीसीका विराटनगर संवाददाता विक्रम निरौलाले जनाएका छन्।
सुनसरीको दुहबीस्थित एउटा प्रमुख प्रसारण लाइन रहेको स्थान डुबानमा परेपछि विद्युत काटिएको अधिकारीहरुले बताएका छन्।
विराटनगर विमानस्थल पनि डुबानमा परेको छ।
उडानहरु समेत प्रभावित भएका छन्।
पूर्वी नेपालका केही स्थानमा खानेपानी समेत अवरुद्ध रहेको बताइएको छ।
केही स्थानमा टेलिफोन सेवा प्रभावित भएको बीबीसीका झापा संवाददाता उमाकान्त खनालले बताएका छन्।

कतिपय स्थानमा वर्षाका कारण सडक भत्किएका छन्
नवलपरासीमा पूर्वपश्चिम राजमार्गको खण्ड भत्किँदा शुक्रबार रातिबाट राजमार्ग अवरुद्ध छ।
सयौं यात्रु अलपत्र छन्।
रौतहटमा पनि सोही राजमार्गको खण्डमा लालबकैया नदीको बाढी पसेपछि यातायात अवरुद्ध रहेको बीबीसीका जनकपुर संवाददाता बृजकुमार यादवले जनाएका छन्।
यसैगरी दाङ्मा बाढीले सडक कटान गर्दा घोराही तुलसीपुर क्षेत्रमा यातायात अवरुद्ध रहेको बीबीसीकी दाङ् संवाददाता बसुन्धरा गौतमले जनाएकी छन्।
केही स्थानमा पक्की पुल समेत बगाएको छ।
बाढीले भर भत्काउँदा बाँकेको राप्ती सोनारी गाउँपालिकामा एकैघरका तीन जना बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ।
तराईका अधिकांश जिल्ला सदरमुकामहरु जलमग्न छन्।
सप्तरीमा खाँडो नदीले कटान जारी राखेको छ।
चितवनको माडीमा स्थानीय रियु खोला, मगनी खोलाको बाढीका कारण ३ सय घर डुबानमा परेका छन्।

बाँकेमा राप्ती नदीमा पानीको स्तर खतराको तहमा पुगेपछि भारतीय पक्षसँग समन्वय गरी लक्ष्मणपुर ब्यारेजको ढोका खोलिएको गृह प्रवक्ता दीपक काफ्लेले बताए।
यसैगरी पूर्वी नेपालको कोशीमा पनि पानीको स्तर खतराको तहमा पुग्न लागेपछि कोशी ब्यारेजको ढोका खोल्नेबारे भारतीय पक्षसँग कुराकानी भइरहेको बताइएको छ।