देउवाले पुल शिलान्यास गर्दा र प्रचण्डले मतदातालाई १ हजार थान ग्यास सिलिन्डर र चुल्हो बाँड्दा आचारसंहिता लाग्दैन ? निर्वाचन आयोग किन मौन ?

maitrinews

रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली पुल शिलान्यास गर्दा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आचारसंहिताको खिल्ली उडाउँदै रौतहटमा मतदातालाई १००० वटा ग्यास सिलिण्डर र चुल्होसमेत बाँड्नु भएको छ । कार्यकर्ता भेलामा चुनाव चिन्ह अंकित टोपी लगाउनु आचार संहिता विपरित भएको भन्दै एमाले नेता माधव नेपाललाई पत्र काट्ने आयोगले मतदातालाई ग्यास सहितका सिलिण्डर र चुल्हो बाँड्नुलाई आचार संहिता उल्लंघन मान्छ कि मान्दैन ? निश्पक्ष रहनुपर्ने निर्वाचन आयोगको भूमिकामाथि अघिल्लै चरणका चुनावमा प्रश्न उठेको थियो । माधव नेपालको टोपी र पुष्पकमल दाहालको ग्यास सिलिण्डर प्रकरणले आयोगको निश्पक्ष भूमिकामाथि थप प्रश्न उठाइदिएको छ ।
बिहीवार रौतहटमा चुनावी अभियान लिएर पुग्नु भएका दाहालले बाढी पीडितका लागि सरकारबाट सहुलियत मिलाइदिने आश्वासन दिंदै एक हजार थान ग्यास सिलिण्डर र चुल्हो वितरण गर्नु भएको थियो ।जनकपुरमा भएको एमाले मोर्चा संगठनको भेलामा एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सूर्य चिन्ह अंकित टोपी लगाएको भन्दै निर्वाचन आयोगले नेपालमाथि २४ घन्टे स्पष्टिकरण सोध्यो । आयोगले औपचारिक रुपमै पत्र काटेर एमाले वरिष्ठ नेता नेपालमाथि निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोप लगायो ।
एमाले वरिष्ठ नेता नेपालले सम्बोधन गरेको त्यही भेलामा बाहिरबाट ढुंगामुढा गर्ने राजपालाई भने आयोगले अहिलेसम्म एउटा पत्रसमेत काटेको छैन ।