मंसिरको तेस्रो सातापछि मुलुकमा ८८४ जना सांसद हुने, यतिधेरै सांसद पाल्न सम्भव छ त ?

काठमाडौं । आगामी मंसिरको तेस्रो सातापछि मुलुकमा सांसदको संख्या ८८४ पुग्ने भएको छ । पहिलो र दोस्रो संविधानसभामा ६०१ सांसद थिए । सानो देशमा धेरै सांसद भएको भनेर आलोचना पनि भएको थियो ।
क्षेत्र निर्धारण आयोगले दिएको प्रतिवेदन अनुसार मंसिर १० र २१ मा प्रदेश र संघीय संसदका लागि चुनाव हुँदैछ । चुनावपपछि देशमा सांसदको संख्या ८८४ हुनेछ ।
अहिलेकै कार्यतालिका अनुसार प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भए मंसिर तेस्रो सातापछि मुलुकमा ८८४ जना सांसद हुने भएका छन् । प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभा सदस्यको समेत निर्वाचन भइसकेपछिको संख्या जोड्दा देशमा सांसदहरुको संख्या ८८४ पुग्ने छ ।

नयाँ संविधान अनुसार निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारण गरेको निर्वाचन क्षेत्रका आधारमा सरकारले घोषणा गरेको मंसिर १० र २१ मा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यो निर्वाचन भएपछि प्रदेशसभामा प्रत्यक्षतर्फ जम्मा ३३० र त्यसको ४० प्रतिशतका आधारमा समानुपातिक २२० सांसद हुनेछन् । र सात प्रदेशमा कुल सांसद ५५० रहनेछन् ।

त्यस्तै केन्द्रीय प्रतिनिधिसभातर्फ प्रत्यक्षतर्फबाट १६५ र समानुपातिकतर्फ ११० सांसद आउनेछन् । यसरी प्रतिनीधिसभा २७५ सदस्यीय हुनेछन् ।

यसबाहेक राष्ट्रिय सभामा ५९ जना सांसद चुनिने व्यवस्था छ । राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार जोसुकै भएपनि मत भने स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिलेमात्र हाल्न पाउनेछन । राष्ट्रियसभाको निर्वाचन भने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि मात्र हुनेछ । यो निर्वाचन पनि २०७४ माघ ७ भित्रै हुनेछ ।

सवैभन्दा धेरै सांसद प्रदेशनम्बर ३ मा ११० र सवैभन्दा कम प्रदेश नम्बर ६ मा ४० जना सांसद हुने देखिएको छ ।

प्रदेशनम्बर ३ मा प्रत्यक्षतर्फ ६६ जना निर्वाचित हुने छन् भने समानुपातिकतर्फ ४४ जना सांसद हुने भएका छन् । दोस्रो नम्बरमा धेरै सांस्द हुने प्रदेश २ नम्बर हुने भएको छ । जसमा प्रत्यक्षतर्फ ६४ जना निर्वाचित हुने छन् भने समानुपातिकतर्फ ४३ जना निर्वाचित हुने भएका छन् । त्यस्तै सवैभन्दा थोरै सांसद प्रदेशनम्बर ६ मा हुने भएका छन् । यो प्रदेशमा २४ प्रत्यक्ष र १६ जना समानुपातिकबाट आउने छन् ।

तेस्रो नम्बरमा धेरै सांसद हुने प्रदेश १ नम्बर प्रदेश बन्नेछ । यो प्रदेशमा प्रत्यक्षतर्फ ५६ र सामानुपातिकतर्फ ३७ सांसद निर्वाचित हुनेछन् । यता प्रदेश नम्बर ४,५ र ७ मा क्रमश प्रत्यक्षतर्फ ३६,५२ र ३२ जना तथा समानुपातिकतर्फ २४,३५ र २१ जना हुनेछन् ।

नेपालको संविधान २०७२ मा नै प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदनसहितको एक संघीय व्यवस्थापिका हुने र त्यसलाई संघीय संसद भनिने उल्लेख छ ।
समग्रमा सांसद संख्या धेरै भएपनि केन्द्रीय अव बन्ने संघीय संसद ३३४ जनाको हुनेछ । जसमा २७५ जना प्रतिनिधिसभाका र ५९ जना राष्ट्रिय सभाका हुनेछन् । यो अनुपातमा हेर्दा केन्द्रीय सांसदभन्दा प्रदेश सभाका सांसद बढि हुने पक्का भएको छ । अब संसद् सेतो हात्ती बन्ने खतरा छ ।