तेस्रो चरणको  स्थानीय निर्वाचनको पहिलो परिणाम राजपा नेपालको पक्षमा

maitrinews

 

 

धनुषा । तेस्रो चरणको स्थानीय तहको पहिलो परिणाम राष्ट्रिय जनता पार्टी नेपालको पक्षमा आएको छ । धनुषाको हंशपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा राजपा उम्मेदवार विजयी भएका हुन् ।प्रमुखमा रामज्ञान मण्डल र उपप्रमुखमा रेणु देवी झा विजयी भएका छन् । रामज्ञानले ३ हजार ३२० मत पाए भने रेणुदेवीले ३ हजार २७६ मत पाइन् ।मेयरका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदिप यादवले ३ हजार २२९ मत पाए । उपमेयरका उम्मेदवार कांग्रेसकै रामकुमारी कामतले ३०२७ मत पाइन् ।प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको हालससम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ । 

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र जेइओसी बाट बिहान प्राप्त पछिल्लो विवरणअनुसार, तेस्रो चरणमा निर्वाचन भएका १३६ स्थानीय तहमा कायम रहेका एक हजार २७१ वडामध्ये हालसम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ । 

निर्वाचन आयोगकाअनुसार, सप्तरीका १७, सिरहाका २४, धनुषाका २२, महोत्तरीका २१, सर्लाही ३५, रौतहटका २७, बाराका २२ र पर्साका १० वडाको मतपरिणाम सार्वजनिक भएको हो । 

तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा ७६ दशमलव ८ प्रतिशत मत खसेको थियो ।