एमाले—माओवादी केन्द्र—नयाँ शक्तिबीच तालमेल र एकता : उत्तम शाक्य

maitrinews

 

विभिन्न समूहमा छरिएका नेपालका कम्युनिस्ट पार्टीहरु मिलेर एउटै कम्युनिस्ट पार्टी बनी मुलुकको नेतृत्व प्रदान गरोस् भन्ने आम नेपालीको चाहनालाई आत्मसात् गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा बृहत् बाम एकता अभियान सुरु भएको छ । यो अत्यन्तै सकारात्मक कदम हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगत्तै एउटै कम्युनिस्ट पार्टी बनाउने लिखित सहमति सार्वजनिक भएसँगै मुलुकभर नयाँ उत्साह सञ्चार भएको छ । मिश्रित निर्वाचन प्रणालीले धेरै भन्दा धेरै दलको उत्पादन गर्ने र स्थिर सरकार बन्न नसक्ने त्रुटीपूर्ण संवैधानिक ब्यवस्था र अभ्यासलाई यसले आगामी निर्वाचनमार्फत मुलुकमा राजनीतिक स्थायित्व दिने सन्देश दिएको छ ।
नेपालजस्तो सानो देशमा आवश्यकता भन्दा धेरै दलको जन्म हुने र तिनीहरुले संसदमा खेल्ने सत्ताकेन्द्रित खेलले प्रणालीलाई विकृत मात्रै होइन राजनीतिलाई पनि अस्थिर बनाउँदै ल्याएको छ । अझ छोटो समयमै सरकार परिवर्तनलाई स्वाभाविक मान्ने संस्कृति निर्माण हुँदा विकासको जनआकांक्षा जहिलेसुकै ओझेल पर्ने गरेको छ । त्यस अर्थमा पनि नेकपा एमाले र माओवादी केन्द्रलगायत दलले गरेको चुनावी तालमेल र चुनाव लगत्तै पार्टी एकीकरणको घोषणा गरिनु आफैंमा सकारात्मक कदम बन्न पुगेको छ ।

संसदमा आवश्यकता भन्दा बढी दल र तिनीहरुको आत्मनिष्ठामा टिक्न नसक्ने चरित्रका कारण हरेक पटक विदेशी शक्ति यहाँको सत्ता परिवर्तन र सञ्चालनमा आफूलाई निर्णाय बनाउँदै आएको थियो र छ । संविधान जारी भएपछि बनेको केपी ओली नेतृत्वको सरकार विस्थापन गरी त्यसयता बनेका लगातारका दुईवटा सरकार त्यसका उदाहरण हुन् । अझ टिठलाग्दो कुरा त के भने सार्वभौम नेपालको प्रधानमन्त्री छिमेकी देशको प्रधानमन्त्रीसामु उभिएर आफ्नो देशको संविधान संशोधन गर्छु भन्ने बाचा गर्न वाध्य छ । यसबाट मुक्ति पाउन पनि राजनीतिक दलहरुले एकता र ध्रुवीकरण मार्फत आफूलाई बलियो बनाउने र आफ्नै शक्तिमा मुलुक सञ्चालन गर्ने सामथ्र्य निर्माण गर्नु पर्नेछ । त्यस उद्धेश्यका एमाले र माओवादीको एकीकरण प्रयास र चुनावी तालमेल झनै इतिहासको आवश्यकता हो भन्न सकिन्छ ।

एमाले र माओवादीको चुनावी तालमेल र एकीकरण अभियानप्रति मुख्य सत्तारुढ दल नेपाली कांग्रेसले तीतो टिप्पणी गरेको छ । कांग्रेसको यो टिप्पणी आफ्नो दलगत भविश्यसँग गाँसिएको छ भन्ने बुझ्न कठीन छैन । नत्र विचार र झण्डा नमिल्ने माओवादीसँग आफ्नो तालमेल जायज र झण्डा, आधारभूत विचार र नामसमेत मिल्ने एमालेसँग माओवादीको तालमेलप्रति कांग्रेस यति नकारात्मक हुनु पर्ने कारण देखिंदैन । बरु कांग्रेसले पनि यसबाट पाठ सिकेर विचार र सिद्धान्त मिल्ने दल खोजेर गठबन्धन निर्माण गर्न सक्छ भने त्यतातिर लाग्नु जाति हुनेछ । त्यसो भयो भने मुलुकमा राजनीतिक स्थायित्व मात्रै होइन, सशक्त प्रतिपक्षी दलको उपस्थिति समेत रहनेछ जसले लोकतान्त्रिक व्यवस्थालाई मर्यादित र जीवन्त बनाउनेछ । विगतमा २÷४ सिट ल्याएर सदाबहार सत्ता राजनीतिमा च्याँखे दाउ लगाउने दलहरू देखिएकै हुन्, त्यसको परिणाम मुलुकमा अस्थिर राजनीतिक स्थिति देखिएकै हो । त्यसैले आगामी दिनमा मुलुकको राजनीतिमा सत्ताको च्याँखे दाउ मात्रै थाप्ने यस्ता दल होइन, बहुमत प्राप्त सत्तारूढ दल÷गठबन्धन र सशक्त प्रतिपक्ष आवश्यक छ । यस अर्थमा पनि निर्वाचनअघि वामपन्थी दलहरूबीचको गठबन्धनलाई सकारात्मक मान्नैपर्छ ।

एमाले र माओवादीबीच तत्कालका लागि चुनावी तालमेल र पछिका लागि पार्टी एकता घोषणाबारे टिप्पणी गर्नुअघि हामी डेढ वर्षअघिको राजनीतिक अभ्यास सम्झन सक्छौं । भर्खरै संविधान जारी भएको थियो र भारतीय नाकाबन्दीलाई सामना गरी उत्तरी छिमेकी चीनसँग पारवहन सन्धी गरेर नेपाल आफ्नै सामथ्र्यमा माथि उठ्दै थियो । तर, जसले नाकाबन्दी लगाएको थियो त्यसैले अस्थिरताको खेल यहाँका राजनीतिक दललाई हातमा लिएर खेल्यो र अकारण सरकार परिवर्तन गरायो । संसदमा दलहरुको सामथ्र्य बलियो थियो भने यसरी खेल्न सम्भव थिएन र यहाँका दलहरु पनि हुत्तिएर विदेशीको पछि लाग्नु पर्ने थिएन । भलै डेढवर्षको अनुभवपछि त्यसलाई महसुस गरेर माओवादीले त्यस बाटोबाट फर्किने प्रयास गरेको छ । राष्ट्रिय सामथ्र्यको विकास गर्ने उद्देश्यको अर्थमा पनि यसलाई सकारात्मक लिनुपर्छ ।

चुनावी सहकार्यपछि पार्टी एकताको समेत घोषणा गरेका एमाले र माओवादीले अव ध्यान दिनु पर्ने कुरा के हुन् भने यो सहकार्य नेताहरुको सत्तास्वार्थका लागि मात्र होइन, देश निर्माणका लागि हो भन्ने कार्यक्रमिक आधारहरु बाहिर ल्याउनु जरुरी छ । नागरिकको अहिलेसम्मको पुस्ताले राजनीतिक अधिकारका लागि संघर्ष गर्यो । संविधानसभाबाट संविधान जारी गरिसकेपछि अधिकारको लडाईं गर्ने युग समाप्त भएको छ । अव नागरिकको जीवनमा समृद्धि ल्याउने ठोस कार्यक्रम र योजना चाहिन्छ र तिनै योजना जनताबाट अनुमोदन गराएर कार्यान्वयनमा लैजानुपर्छ । नत्र लोकतन्त्र जनताको जीवनसँग गाँसिन सक्दैन, यो कोरा गफ मात्रै सावित हुनेछ । राष्ट्रिय स्वाधीनता, सन्तुलित छिमेक नीति र राष्ट्रिय समृद्धिको आधार प्रस्तुत गर्नुपर्दछ ।

चुनावी तालमेल र भविश्यमा पार्टी एकताको घोषणा गर्दा एमाले र माओवादीका नेताहरुले राष्ट्रिय स्वाधीनता र समृद्धिलाई उद्देश्य बनाएको वताएका थिए । केपी शर्मा ओली नेतृत्वको सरकारले त्यसका लागि सकारात्मक थालनी समेत गरेको थियो । अव दुई पार्टीको एकतापछि यसबाट वस्तुनिष्ठ योजना ल्याउनुपर्छ ।