सबै निर्वाचन क्षेत्रमा सक्षम उम्मेदवार चयन गर्दै संयुक्त कार्यदल

 

काठमाडौं । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीका शीर्ष नेतासहित ती पार्टीद्वारा गठित संयुक्त कार्यदलको बैठक एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ । कार्यदलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन जित्नेगरी उम्मेदवारको क्षेत्र तोक्न र चुनावपछि आर्थिक समृद्धिको योजनालाई ध्यान दिएर घोषणापत्र मस्यौदा गर्न निर्देशन दिनुभएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको आगामी चुनावमा तालमेल गर्दै पार्टी एकीकरण गर्ने निर्णयपछि उम्मेदवार चयन र साझा घोषणा पत्र मस्यौदा गर्न बनेका छुट्टा छुट्टै कार्यदलको बैठक बसेको हो । यी दुई कार्यदलले निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरु तोक्ने र साझा घोषणा पत्र तयार पार्ने काम गर्नेछन् ।
कार्यदलको बैठकमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल पनि हुनुहुन्छ । निर्वाचन क्षेत्रमा उम्मेदवार तोक्न एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनेको थियो । कार्यदलमा एमालेका तर्फबाट उपमहासचिव विष्णु पौडेल, नेता सुरेन्द्र पाण्डे, माओवादीका तर्फबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्तिका गंगा श्रेष्ठ हुनुहुन्छ । यस्तै एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा साझा घोषणापत्र मस्यौदा गर्ने संयुक्त कार्यदल बनेको थियो । उक्त कार्यदलमा एमाले उपाध्यक्ष भीम रावल र सचिव प्रदीप ज्ञवाली माओवादी नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ र विश्वभक्त दुलाल तथा नयाँ शक्ति पार्टीका तर्फबाट डम्बर खतिवडा हुनुहुन्छ ।

दुवै कार्यदललाई एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले चुनावपछि हुने पार्टी एकीकरण, निर्वाचनपछि सरकारले गर्नुपर्ने आर्थिक समृद्धिको योजनालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिनुभएको छ ।