निर्वाचन सार्ने खेलमा नलाग्न काँग्रेसलाई एमाले—माओवादी केन्द्रको चेतावनी

maitrinews

काठमाडौँ । नेपाली कांग्रेसले नेकपा एमाले तथा माओवादी केन्द्रबीचको गठबन्धनलाई लोकतन्त्रविरोधी गठबन्धन भएको आरोप लगाएसँगै दुवै दलका नेताहरूले नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् । एमालेको स्थायी कमिटीको बैठकमा एमाले–माओवादी गठबन्धनको विषयलाई लिएर नेपाली कांग्रेसलाई निर्वाचन सार्ने खेलमा नलाग्न चेतावनी दिएको छ ।

हिमालय टाइम्सले प्रकाशित गरेको समाचारका अनुसार, ‘गठबन्धनबाट अधिनायकवाद, सर्वसत्तावाद वा लोकतन्त्र खतरामा परेको भन्नेजस्ता अराजनीतिक टिप्पणी नगर्न आग्रह गरेको छ’ ।

कान्तिपुरमा दुर्गा खनालले लेखेको समाचारमा पनि एमाले बैठकले कांग्रेसबाट आएको टिप्पणी उत्तेजक र अराजनीतिक खालको भएको भन्दै यही बहानामा चुनाव प्रभावित हुने खालका गतिविधि नगर्न चेतावनी दिएको छ । ‘कांग्रेस अत्तालिएको जस्तो गरेर अनुचित टिप्पणी गरिरहेको छ । लोकतन्त्र नै खतरामा पर्यो भन्ने ढंगको टिप्पणी गर्नु आपत्तिजनक छ ।’

एमाले सरकार परिवर्तन गर्ने कुनै किसिमको खेलमा भाग नलिएको र यही सरकारलाई निर्वाचन गराउन सहयोग गर्ने भएकाले निर्वाचन परसार्ने काम नहोस् भन्ने चेतावनी दिएको छ ।

उता माओवादी केन्द्रको संसदीय दल र पोलिटब्युरो बैठकमा पनि अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसबाट आएको टिप्पणीप्रति आपत्ति जनाउँदै गठबन्धन कसैको विरुद्ध नभएको जनाएको छ । अध्यक्ष दाहालले आफूले सरकारलाई दिएको समर्थन कायमै राख्ने भन्ने विषयमा प्रधानमन्त्रीलाई जानकारी गराईसकेको पनि पोलिटब्युरोमा जानकारी गराएका थिए । सो बैठकमा एउटै कम्युनिस्ट केन्द्र बन्ने क्रममा दुई दलको गठबन्धन भएको प्रशिक्षण गर्दै माओवादी नेता दाहाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महराले नेता तथा कार्यकर्तालाई बताएका थिए ।
भारतको राजधानी नयाँ दिल्लीबाट संप्रेषण गरेको विश्लेषणका अनुसार नेपालमा भएको कम्युनिस्ट गठबन्धनले भारत चकित भएको छ । मुख्यतः इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनलाइसिसका अनुसन्धानकर्ता डा। निहार नायकले कम्युनिस्ट गठबन्धन भारतको लागि एक राजनीतिक झट्का भएको बताएका छन् । चीनले नेपालसँगको कूटनीतिक सम्बन्ध आक्रामकरूपमा विस्तार गरिरहेकाले भारतले नेपालमा आफ्नो प्रभाव छ भन्नु भ्रम भएको नायकले बताएका छन् । उता भारतका उदारवादी नेता मणिशंकर अय्यरले भने कम्युनिस्ट एकता नेपालको आन्तरिक राजनीति भएको कारणले भारतले त्यसमा हस्तक्षेप गर्नु नहुने बताएका छन् । यो विश्लेषणमा नायक र अय्यरले अन्नपूर्ण पोस्टसँग कुरा गरेका हुन् वा कतैबाट तिनको भनाइ लिइएको हो सो स्पष्ट गरिएको छैन ।
गत तीन दिनदेखि तेह्रौ पटक आमरण अनशन बसेका डा। गोविन्द केसीले चिकित्सा विधेयकमा जम्म १८ वटा असहमति राखेका छन् । डा। केसीका अनुसार संसदमा यो विधेयकलाई प्रक्रियाअनुसार फिर्ता गरेर वा संसद्भित्रै माथेमा प्रतिवेदन र आफूसँग भएका सहमतिअनुसार विषय थपेर पारित गरिनुपर्छ । यो विधेयक आफ्नो लामो संघर्षलाई संस्थागत गर्ने कानुनी आधार भएको तर यो झनै माफियामुखी भयो भने सत्याग्रह नटुट्ने जानकारी पनि डा। केसीले दिएका छन् ।
डा। केसीको सत्याग्रहको समाचारलाई मुख्य समाचार बनाउँदै यो पल्ट अनशन बसेको तेस्रो दिनमा नै उनको स्वास्थ्य निकै कमजोर बनेको समाचार प्रकाशित गरेको छ । उनलाई शनिवार रिंगटा लाग्ने र मांसपेसी बाउँडिने समस्या देखिएको छ ।

सप्तरी तिलाठीका देवनारायण यादवलाई झुठा मुद्दा लगाएर भारतीय प्रहरीले थुनामा आठ दिनभन्दा बढी राखेकोमा उनलाई शुक्रवारमात्र भारतीय अदालतले रिहा गर्ने आदेश दिएको छ । यादव र पुत्र अजयलाई भारतीय प्रहरीले मानव बेचबिखन र अपहरणको गलत मुद्दामा फसाएका थिए । अजयकी श्रीमती ज्योतिले भारतीय अदालतमा गएर आफूलाई कसैले अपहरण नगरेको र आफू अजयसँग विवाह गरेर नेपाल आएको बयान दिएपछि भारतीय प्रहरीले यादवका पिता तथा पुत्रलाई थुनामुक्त गरेको थियो । देवनारायण यादवले गतवर्ष भारतीय पक्षले नेपालको सीमा मिचेर बनाउन लागेको बाँधको सशक्त विरोध गरेका कारण उनलाई फसाउन तत्कालीन भारतीय सीमाका प्रहरी अधिकृतले उनको परिवारविरुद्ध जालसाजी गरेको यादवको आरोप छ ।