तालमेलपछि बामपन्थी शक्तिको दुईतिहाई मत आउँछ— टोपबहादुर रायमाझी

maitrinews


काठमाडौँ । नेकपा (एमाले) माओवादी केन्द्र र नयाँ शक्तिबीच भएको बाम तालमेललाई माओवादीका नेता टोपबहादुर रायमाझीले पनि सकारात्मक भन्नुभएको छ । उहाँले मैत्रिन्युज डटकमसँग कुराकानी गर्दै बिचार मिल्ने राजनीतिक शक्तिहरुबीच एकीकरणका लागि भएको तालमेल अर्थपूर्ण रहेको दाबी गर्नुभयो । ‘यो सहमति कांग्रेसविरुद्ध लक्षित छैन,’ उहाँले भन्नुभयो, ‘कुनै विदेशी शक्तिका विरुद्धमा पनि छैन । यो सहमति जनता र राष्ट्रको पक्षमा छ,’ उहाँले भन्नुभयो, ‘यो देश बनाउने कुराको सहमति पनि हो । यसमा कसैले झस्किनु पर्दैन ।’
उहाँले अहिले संविधान कार्यान्वयनको चरणमा रहेको भन्दै भन्नुभयो । ‘संविधान कार्यान्वयन गर्नु भनेको देशलाई समृद्धिको दिशामा अघि बढाउनु पनि हो,’ उहाँले भन्नुभयो, ‘समृद्धिका लागि धुव्रिकरण आवश्यक छ । त्यसका लागि पनि हामीले एकताको प्रयास गरेका हौँ । देशको समृद्धिका लागि बामपन्थी शक्तिहरु एकता गर्न पनि सक्छन् भन्ने सन्देश दिनको लागि पनि एकता हो ।’
उहाँले कमजोर भएर होइन पाँच वर्षका लागि स्थीर सरकार निर्माण गर्ने र राष्ट्रको समृद्धि गर्ने चाहनाले बाम एकताको सुरुवात गरेको पनि दाबी गर्नुभयो । ‘हामी संघीय प्रणालीमा गइरहेका छैँ । अहिले कै समिकरणलाई हेर्ने हो भने कसैको पनि बहुमत आउने देखिदैँन । कसैको पनि बहुमत नआउने र अस्थिरता आइरहने हो भने समृद्धिको सपना पूरा हुँदैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले हामीले दुईतिहाई ल्याउने र राजानीतिक स्थीरत कायम गर्ने उदेश्यले पनि सहमति गरेका हौँ । यो सहमतिले पाँच बर्षका लागि स्थीर सरकार निर्माण हुने ९० प्रतिशत बढी सम्भावना छ । हामीले यो सहमति हचुवाका भरमा गरेको नभएकाले हामीले आगामी दुई निर्वाचनमा राम्रो परिणाम हात पार्ने छौँ ।’
सिमाना र समुद्रपारीका शक्तिले बाम एकताका बारेमा चिन्ता लिएको भन्दै चिन्ता नमान्न आग्रह पनि गर्नुभयो । ‘विदेशी नीतिमा परिवर्तन हुदैन । छिमेकीसँग सन्तुलित सम्बन्धका पक्षमा हामी रहेकै छौँ । बराबरीको हैसियत, मर्यादामा रहेर छिमेक सम्बन्ध कायम गर्ने हो,’ उहाँले भन्नुभयो, ‘संंयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तबाट एक शब्द तलमाथि हुने छैन । कसैले अर्घेल्याईं गर्छ भने पनि हामी त्यो नगर्न आग्रह गर्छौ ।’
उहाँले जनतालाई आशा भर्नका लागि पनि बामपन्थी शक्ति एक हुन जरुरी रहेको दाबी गर्नुभयो । ‘पाँच वर्षसम्म बामशक्तिले सरकार सञ्चालन गर्ने हो भने देशमा कायापलट ल्याउन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘देशमा विकासको मुहान हामीले नै फुटाउन सक्छौँ ।’