स्व. वसन्तकुमार बज्राचार्यप्रति समर्पित ज्ञानमाला भजनहरु २०७१ वि.सं.को समीक्षा—डा. शोभित बज्राचार्य

maitrinews

१. विषय प्रवेश

विजया दशमी २०७४ वि.सं. मनाउन काठमाडौँबाट जन्म घर तानसेनमा पुगियो । छोटो बसाइमा आफन्तजनहरु सँग भेट्ने अवसर प्राप्त भयो । ‘महको म’ पुस्तक अद्योपान्त पढेँ । मदन ‘द्यौराली’ द्वारा लिखित पाल्पाको संस्कृति र पर्यटन विकास सम्बन्धी चुनौतीहरु नामक कार्य–पत्र तथा झपेन्द्र जि.सी.को ‘पाल्पाको भाषा एवं साहित्य सम्बन्धी लेख पनि पढियो । भगवती मन्दिर, बौद्ध मन्दिरहरुको दर्शन गरेँ । श्रीनगर डाँडाबाट देखिने दृश्यहरु अवलोकन गरिँदा, हाम्रा धर्म, संस्कृति र संस्कारहरु बीचको सहिष्णुतालाई देखाउने पूर्वाधारहरुको अनुपम उदाहरण तानसेन, पाल्पामा पनि रहेको कुराले मेरो मनमुटु छोएको थियो । श्रीनगर डाँडाको काखैमा रहेको हालको तानसेन नगर पहिले श्रीनगरमा थियो । पछि तल बस्ती सरेपछि अमर शिंह तैनाथवाला भएर आएपछि उनीले प्यागोडा शैलीमा कलात्मक नारायण मन्दिर बनाउन काठमाडौँबाट ख्याती प्राप्त शिल्पकार ‘सुन्दर बाँडा’लाई झिकाए । उनी पाल्पामा आई सकेपछि सम्भवत स्व. गणेश कुमार बज्राचार्यको घरमा बसे । पछि तानसेन, भीमसेन टोलमा (जहाँ अमृतानन्द महास्थविर ज्यूको जन्म पनि भएको थियो ।) बसोबास गर्ने इच्छा राखेर घडेरी किने छन् र आधा घडेरीमा एउटा बज्रको चिभा (स्तुप) बनाउन जग्गा दान गरे । पछि २००६ साल तिर ज्ञानमाला संघ तानसेनले भव्य आनन्द बिहार बनायो । बिहारको दक्षिण पट्टि भीमसेन टोल निवासी स्व. गणेश कुमार बज्राचार्यद्वारा निर्मित एउटा पाटी–पौवा अवस्थित थियो । यसरी यी २ मन्दिरहरुलाई देख्दा हाम्रा धर्म, संस्कार, आस्थाहरु एक आपसमा परम्परागत कालदेखि अन्र्तसम्बन्धित हुँदै आएको महसुस भयो । यसबाट म रोमान्चित भएँ । ज्ञानमाला सभा, महा चैत्य बिहार, तानसेनका अध्यक्ष मेरो सहोदर भाइ केशव बज्राचार्यले काठमाडौँ फर्कने बेलामा भने – दाइ ! पोखराका दाइ सुवर्णले मामा स्व. बसन्त कुमार बज्राचार्य (सुपुत्र स्व. गणेश कुमार बज्राचार्य)को पुण्य स्मृतिमा ‘बौद्ध भजनमाला’ सिडि बनाउनु भएको छ, लग्नु होला । यो सिडि उनले मलाई दिँदाको बखत उसको अन्र्तमनलाई मैले सिंहावलोकन गरेँ । कुनै समयमा मेरो जीवनको एक अंगको रुपमा रहेको संगीत, रचना, बाद्यवादन तथा साहित्य सम्बधी मेरो साधना बीचमा पेशागत कारणवशः बिचलन भयो । संगीत साधनाको पुनः निरन्तरता रही रहोस् भन्ने उन्को चाहना रहेको मैले बुझेँ । बिगतमा आफू पनि संगीत, रचना, वाद्यवादन र साहित्यमा समर्पित रहेको परिदृश्यहरु मेरो मन–मष्तिस्कमा तरंगित हुँदै गयो । काठमाडौँ पुगी सकेपछि उक्त सिडिका भजनहरु श्रवण गर्ने अठोट गरेँ । उक्त सििडमा जम्मा ६ वटा भजनहरु रहेका छन् ।

२. विषय संस्लेषण

यहाँ यस भजनलाई उद्देश्य, संगीत, रचना गरी ३ दृष्टिकोणबाट विश्लेषण गर्ने प्रयास गरिएको छ ।क. उद्देश्य विष्णु बज्राचार्यकी जीवनसङ्गाी स्व. बसन्त बज्राचार्य एक बौद्ध उपासक, नाटक–कलाकार, संगीतप्रेमी, समाजसेवी, कुशल शिल्पकार तथा व्यापारी थिए । स्व. वसन्त कुमार बज्राचार्यको परिवारजनहरु बौद्ध संस्कार वरिपरि झुमेका छन् भन्दा उत्युक्ति नहोला । वि.सं. २००८ सालमा बौद्ध दर्शन नाटक तानसेनमा प्रस्तुत हुँदा उहाँले आफूलाई दिइएको एक पात्रको भूमिका प्रभावपूर्ण ढङ्गले निर्वाह गर्नुभएको थियो । स्व. वसन्त बज्राचार्यमा समर्पित यस बौद्ध भजन माला सिडि बौद्ध धर्मको प्रचार प्रसार गर्नमा सफल बन्न सकेको छ ।ख. संगीत पिता बसन्त कुमार बज्राचार्य समर्पित संगीतकार तथा गीतकार सुवर्ण बज्राचार्यका यस भजन गीतहरु अत्यन्त उच्चकोटीका छन् । जीवन–दर्शन, भक्ति तथा करूणा रसमा आधारित भजन–संगीतले मानव अन्तस्करणलाई उद्वेलित गर्न सकेको छ । यसमा समाहित संगीतले मानव मन–मष्तिस्कलाई छुन सकेको छ । संगीत अमूर्त कुरा हु्न् । यसको सीमाना र भाषा हुँदैन । यस भजनका गीतले पारेको प्रभावहरु पनि अमूर्त नै रहेका छन् । सिजन बज्राचार्यले संगीतको कुशल संयोजन गरेर, संगीतकारको गीतलाई न्याय दिन आफू सफल भएका छन् । परन्तु गीत, संगीत सिमित ताल (बिट) र सुरमा (स्केल) मात्रै आधारित छन् । मूलतः आठ (८) बिटको कहरवा तालमा मात्रै संकुचित बन्न पुगेको छ । तालमा विविधता र सुरमा (स्वर) श्रृङ्खलावद्ध उतार–चढाव भएको भजन गीतले यसको उचाइलाई अझ माथि पु¥याउन सजिलो बनाइदिन्छ ।
ग. रचना सुवर्ण बज्राचार्य पोखराका मात्रै नभई नेपालकै एक सिद्धहस्त गायक, संगीतकार एवं रचनाकार हुनुहुन्छ । उहाँबाट तय भएको भजनहरु श्रवण गरि सकेपछि पनि यस भनाई प्रमाणित भएको छ । उनी दशकौँ अगाडिका रेडियो नेपालका गायक पनि हुन् । प्रतिस्पर्धात्मक संगीतको बजारमा उर्जाशील, क्षमतावान, मेहेनती संगीतकार, गीतकार एवं गायकहरु बिना इच्छा ओझेलमा पर्न सक्दैन, ओझेलमा पनि पार्नै हुँदैन । यस भजन गीतमा प्रयुक्त भएका शब्दहरु अत्यन्त सरल छन् । संगीत र रचना एक आपसका अन्र्तसम्बन्धित विषय–बस्तुहरु हुन् । संगीत रचनाको भाव–भूमिमा उभिएको हुन्छ भने रचना संगीतको बेगमा बगेकै हुनुपर्दछ । यस लेखक पनि गीत, संगीत र रचनामा रुची राख्नेहरु मध्ये एक भएको हिसाबले सुवर्ण बज्राचार्यलाई यस विषयमा पोख्त ठान्दछन् । नेपालमा संगीत र रचनालाई संयुक्त रुपमा राखिँदा प्रायः तालमेल नभएको अवस्थामा यस भजनमा समाहित संगीत तथा रचनाले एक आदर्श रुप देखाउने प्रयास गरेकै छ । परन्तु लेखिएका गीतका बोल र गाउँदा उच्चारण गरिएका अक्षरहरुमा कतै अन्तर रहेका छन् । इटालिका विद्वान मेजनले भनेका छन् – “आफ्नो संस्कार, संस्कृतिको अवशान हुनु भनेको अन्त्यमा आफ्नो पनि अवशान हुनु हो ।” त्यसैले नेपाली र नेवारी (नेपालभाषा) दुबै भाषामा गीतको बोल तयार गरिँदा सिडिको मर्यादा अझ बढ्ने कुरामा दुईमत हुन सक्दैन । यसका बाबजुद पनि गायक, गायिकाहरुको गायनकला अत्यन्त कर्णप्रीय एवं सवल रहेका छन् ।

३. उपसंहार

बौद्ध भजनमाला सिडि बुद्धको ज्ञानलाई प्रचार–प्रसार गर्ने एक गहकिलो साधन मात्र हुन् । यसको साध्य भनेको बौद्ध धर्मलाई आत्मसात् गरी व्यवहारमा रुपान्तरण गरी सम्पूर्ण जीवन–जगतलाई सुखमय गर्नु रहेको छ भन्ने कुरालाई कदापि भुल्नु हुँदैन ।