नेपाली विज्ञापन बजार फस्टाउँदो छ —निर्मलराज पौडेल ,पूर्वअध्यक्ष,नेपाल विज्ञापन संघ

maitrinews

 

नेपाल विज्ञापन संघ (आन) का पूर्व अध्यक्ष एवं वेलकम एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लि. का प्रबन्ध निर्देशक निर्मलराज पौडेल आनको स्थापना कालदेखि नै नेपाली विज्ञापन व्यवसायमा मात्र नभई नेपाली मिडिया जगतको दीर्घकालिन समुन्नतिको लागि क्रियाशिल छन् । विज्ञापन क्षेत्रमा प्रशस्त जानकारी हासिल गरेका पौडेलसँग हामीले नेपालको विज्ञापन बजार, यस क्षेत्रका समस्या र चुनौति लगायतका बिषयमा आधारित रही कुराकानी गरेका छौं । विज्ञापन गुरुकारुपमा समेत चिनिले पौडेलसँगको कुराकानीको संक्षप : 

नेपालमा विज्ञापन व्यवसायको अवस्था कस्तो छ ?

नेपाली विज्ञापन जगत्को अवस्था एवं संरचना क्रमिक रुपले विकास भइरहेको छ । नेपालका विज्ञापन एजेन्सीहरुको व्यवसायिक विकाससँगै सृजनशीलतामा समेत वृद्धि भइरहेको अवस्था छ । साथै मिडिया र आमसञ्चारमा भएको प्रगतिसँगै विज्ञापन बजार विस्तार हुने क्रममा छ । विश्वव्यापीकरण एवं बढ्दो साक्षरता दरले गर्दा नेपाली आम उपभोक्ताहरु कुनैपनि वस्तु वा सेवासम्बन्धी सूचनाप्रति सचेत भएका छन् । हाल आएर दैनिक उपभोग्य समानहरुको प्रयोग गर्न विज्ञापनकै भरमा निर्णय लिने प्रचलन, बालबालिकाहरु विज्ञापन हेरेकै भरमा विभिन्न वस्तु तथा सेवाका बारेमा बढी जानकार हुने आदि क्रियाकलापले विज्ञापनको महत्वलाई दर्शाउँछ भने यसले नेपाली विज्ञापन व्यवसायको अवस्थाको समेत जानकारी गराउँछ । विज्ञापनप्रति जनमानसमा बढ्दो चेतनाका कारण विभिन्न उद्योगहरुले विज्ञापनलाई आफ्नो सेवा र वस्तुको प्रवद्र्धन गर्ने सशक्त माध्यमको रुपमा स्वीकार गर्दैछन् । हाल विज्ञापन बजारमा ५ अर्ब बराबरको वार्षिक कारोबार भइरहेको छ । मुलुकमा रोजगारीको अवसरमा कमी आइरहेको अवस्थामा विज्ञापन क्षेत्रले रोजगारीको अवसरहरु सृजना गरेको छ । हाल विज्ञापन क्षेत्रमा १५–२० हजार व्यक्तिहरु प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । साथै मुलुकको सामाजिक र आर्थिक विकासमा पनि विज्ञापन क्षेत्रको विशेष भूमिका रहँदै आएको छ ।

पहिले र अहिलेको विज्ञापन र यसको बजारमा कस्तो फरक छ ?

पहिलेको विज्ञापन जानकारीमूलक मात्र हुन्थ्यो भने सूचना प्रविधिको विकाससँगै विज्ञापन क्षेत्रमा पनि विज्ञापन निर्माण गर्नुभन्दा अघि गरिने बजार अनुसन्धान, सृजनात्मक पक्ष, मानव संसाधन एवं नयाँ प्रविधिलाई सबैले आत्मसात गरिरहेका छन् । साथै विज्ञापन निर्माण गर्दा प्रयोग हुने प्रविधिहरुमा अत्याधुनिक परिवर्तन आएको छ जसले टि.भी. प्रिन्ट र आउटडोर क्रियाकलापहरुमा समेत प्रत्यक्ष प्रभाव पारेको छ । यथेष्ट पुँजी, उच्चस्तरीय प्रविधि एवं दक्ष जनशक्तिको अभावबाट गुज्रिरहेको नेपाली विज्ञापन व्यवसाय सृजना र मौलिकताको नयाँ बाटोमा हिँड्ने जमर्को गरिरहेको छ र यसको लागि सम्पूर्ण विज्ञापन जगतसँग सम्बन्धित पक्षहरु हातेमालो गरि अगाडि बढिरहेका छन् । यही कारणले पनि विज्ञापनको लागि मात्र विज्ञापन गर्ने सतही मानसिकताको अन्त्य भइरहेको छ भने विज्ञापन आफैँमा एक बृहत् व्यवहारिक कला हो भन्ने नयाँ परम्पराको शुभारम्भ भएको छ । विज्ञापन बजारको कुरा गर्ने हो भने मुलुक राजनैतिक अस्थिरताबाट गुज्रिरहेको अवस्थामा पनि विज्ञापन उद्योगको आयतन प्रतिवर्ष १०–१५ प्रतिशतको हाराहारीमा वृद्धि भइरहेको छ जुन अत्यन्त सन्तोषजनक अवस्था हो । संभवत १०० को हाराहारीबाट शुरु भएको विज्ञापन वि. सं २०१७ सालतिर १००० को दरले बढ्दै गयो । यद्यपि त्यतिबेलाका कुनै आँकडाहरु आधिकारिक थिएनन् तर विज्ञापन सम्बन्धी छापिएका विभिन्न लेखहरुलाई तथ्य मान्ने हो भने वि.सं २०३८ सालतिर विज्ञापन बजार करोडको हाराहारीमा विस्तार हुँदै गएर वि.सं २०५० देखि २०५२ सालसम्म आइपुग्दा रु. १ अर्ब सम्म पुगेको थियो । वि. सं २०५६ सालदेखि हालसम्मको अवस्थामा आइपुग्दा नेपाल विज्ञापन संघले गरेको बजार सर्वेक्षणको तथ्यलाई आधार मान्दा उद्योगको वार्षिक कारोबार लगभग ४ अर्ब ८५ करोड बराबरको रहेको छ । प्रिन्ट मिडियाको वाषर््िाक कारोबार २ अर्व २५ करोड छ भने टेलिभिजनको ९५ करोड छ । यसैगरी रेडियोको ७५ करोड, आउटडोर ७० करोड, डिजिटल (हलहरु) र अनलाइन विज्ञापन १५ करोड र केबल स्क्रोलिङ्ग ५ करोडको हाराहारीमा वार्षिक कारोबार रहेको छ ।

सञ्चार माध्यम र विज्ञापन व्यवसायीको सम्बन्ध कस्तो छ ?

वास्तवमा भन्ने हो भने नेपालमा आम सञ्चार माध्यमलाई टिकाइराख्न विज्ञापन बजारले प्रमुख भूमिका निर्वाह गरेको छ । सिंगो सञ्चार जगतलाई नै मर्यादित एवं व्यवस्थित पार्ने कार्यमा समेत विज्ञापन बजारले ठूलो महत्व राख्दछ । मिडिया र आम सञ्चार माध्यमले जनतालाई जुनसुकै विषयका बारेमा पनि जानकारी गराउँछ । यस अर्थमा भन्नुपर्दा सञ्चार माध्यमको विकास एवं विस्तार मुलुकको लागि राम्रै संकेत हो तर अहिले जुन हिसाबले मिडिया दर्ता प्रक्रिया भइरहेको छ, त्यसले मिडिया क्षेत्र र विज्ञापन बजारमा समेत प्रत्यक्ष प्रभाव पारिरहेको छ । जसको फलस्वरुप स्वयं सञ्चार माध्यम र विज्ञापन व्यवसायीहरुबीच पनि अस्वस्थ प्रतिस्पर्धाको भावना विकास भइरहेको छ । विज्ञापन व्यवसायी र संचार माध्यमले एकआपसमा सहकार्य गरि अघि बढ्दा दुवै पक्षलाई सकारात्मक फाइदा हुने देखिन्छ ।

क्लिन फिड के हो र यसले नेपाली विज्ञापन बजारमा कस्तो प्रभाव पार्छ ?

टेलिभिजन च्यानलहरुले विज्ञापनरहित सामग्री प्रस्तुत गर्ने व्यवस्था नै क्लिन फिड हो । अर्थात् बिना विज्ञापन सामग्री मात्र प्रस्तुत हुने च्यानलहरु क्लिन फिड हुन् । हामीले हेर्ने गरेका विदेशी च्यानलहरु जस्तै एचविओ, सिनेम्याक्स आदिमा कार्यक्रम मात्र आउँछन् विज्ञापन आउँदैनन्, त्यस्ता च्यानलहरुलाई क्लिन फिड च्यानल भनिन्छ । क्लिन फिडको महत्व र यसले नेपाली विज्ञापन बजारमा पार्ने सकारात्मक प्रभावलाई ध्यानमा राखेर विगत लामो समयदेखिको निरन्तर प्रयासको फलस्वरुप सरकारले विज्ञापनरहित नीति २०७३ को तर्जुमा गरेको छ जुन आफैंमा स्वागतयोग्य छ । यस नीतिका प्रमुख उद्देश्यहरुमा विदेशी टेलिभिजन च्यानलहरुद्वारा प्रसारित विज्ञापनलाई नियमन गर्ने, स्वदेशी विज्ञापन बजारलाई विस्तार गर्ने, विज्ञापनको माध्यमबाट नेपाली भाषा र संस्कृतिमा भएको अतिक्रमण रोक्ने आदि रहेको छ ।
यस नीतिको सही रुपले कार्यान्वयन भएमा हाल वर्षिक ५ अर्बको हाराहारीमा रहेको विज्ञापन बजार दोब्बरले वृद्धि हुने निश्चित छ साथै विज्ञापन व्यवसायसँग सम्बन्धित क्षेत्रहरु जस्तै उत्पादन गृह, कलाकार, रेकर्डिङ्ग स्टुडियो आदिमा समेत सकारात्मक वृद्धि हुने, विदेशी डबिङ्ग विज्ञापनहरु निरुत्साहित हुने, स्थानीय स्तरमा उत्पादित विज्ञापनमा मौलिकपना साथै स्थानीय कला, संस्कृति र भाषाको श्रीवृद्धि हुने र स्थानीय अर्थतन्त्रलाई सहयोग गरि स्वदेशी बजारमा प्रतिस्पर्धी क्षमताको विकास हुने लगायतका अन्य थुप्रै फाइदाहरु देखिन्छन् । तर बिडम्बना आफ्नो निहित स्वार्थको लागि यसका सरोकारवालाहरुले क्लिन फिड नीतिलाई कार्यान्वयन हुन नदिएको अवस्था छ ।
तसर्थ अब हामीले क्लिन फिड र यसका फाइदाहरुको बारेमा आम सञ्चार माध्यम र विज्ञापन व्यवसायीहरुमा चेतना फैलाएर यस सम्बन्धी भएको निर्णय यथाशीघ्र कार्यान्वयनमा ल्याउन पहल गर्नुपर्ने जरुरी देखिन्छ । यसमा जतिसुकै बाधा आइपरे पनि भविष्यमा हामी यो नीतिलाई लागू गराएरै छाड्न विशेष पहल गर्नेछौं ।

नेपालमा विज्ञापन व्यवसायलाई व्यवस्थित र प्रभावकारी बनाउन के गर्नुपर्ला ?

विज्ञापन बजारलाई अझ मर्यादित र व्यवस्थित गर्नका लागि विदेशी डबिङ्ग विज्ञापनहरुलाई निरुत्साहित गर्नुपर्दछ र अनियन्त्रित रुपमा बढ्दै गइरहेको विज्ञापन एजेन्सी र मिडियाहरुको दर्ता प्रक्रियामा रोक लगाउनु पर्दछ । साथै सरकारले आयातित तथा उत्पादित सम्पूर्ण वस्तुहरुको विज्ञापन सम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरि विभिन्न सुविधा र प्याकेजहरुद्वारा स–साना उद्योगहरुलाई समेत विज्ञापन गर्नका निमित्त पे्ररित गर्नुपर्दछ । यसका साथै समय सापेक्ष क्लिन फिडको अवधारणा ल्याउनु पर्दछ । यस्ता क्रियाकलापहरुले विज्ञापन व्यवसायलाई मात्र नभई सिङ्गो मिडिया जगतको अभिवृद्धिमा सहयोग गर्दछ । विज्ञापनको योजनाबद्ध वृद्धि गरि यसलाई प्रभावकारी पार्नका लागि राष्ट्रिय विज्ञापन नीति अपरिहार्य छ । यसो भएको खण्डमा दीर्घकालमा विज्ञापन व्यवसाय अवश्य उद्योगको रुपमा आफ्नो पहिचान बनाउन सफल हुनेछ । साथै यसका लागि विज्ञापन चक्रमा आवद्ध सबै साझेदाहरुको सक्रिय सहभागिता, इमान्दारिता, सहयोग, सद्भाव एवं समर्थनको पनि उत्तिकै खाँचो छ ।

विज्ञापन क्षेत्रको विकासका लागि आनले खेलेको भूमिकालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

नेपाली विज्ञापन क्षेत्रको व्यवसायिक एवं मर्यादित रुपमा विकास गरि राष्ट्रको समग्र मिडियाको श्रीवृद्धि गर्ने प्रमुख भूमिका नेपाल विज्ञापन संघ आनले निर्वाह गर्दे आइरहेको छ । दुई दशक भन्दा लामो यात्रामा आनले विभिन्न उतारचढाव र चुनौतीहरुलाई पार गरेर शैशवकालमा रहेको विज्ञापन क्षेत्रलाई राष्ट्रकै एक सबल र सुदृढ उद्योगको रुपमा स्थापित गर्न सफल भएको छ ।
आनले संरचनागत एवं सागंठनिक रुपमा आफूलाई निरन्तर मजबुत गरि वास्तवमै नेपाली विज्ञापन व्यवसायको अभिवृद्धिमा कटिवद्ध रहेको छ । आनले नेपाली विज्ञापन क्षेत्रको सिर्जनात्मक एवं व्यवसायिक रुपान्तरणको लागि कृति अवार्ड एवं अन्य व्यवसायिक तथा सामाजिक क्रियाकलापहरुमा सक्रिय रुपमा सम्पादन गरी आफ्नो छविलाई पनि क्रमिक रुपमा परिमार्जन गरिरहेको छ । कृति अवार्ड कार्यक्रमको मुख्य उद्देश्य नेपाली विज्ञापनमा सिर्जनशिलता एवं नवीनतालाई प्रोत्साहन गरी समग्र विज्ञापन उद्योगलाई नयाँ गति दिनु हो । यस अवार्डको आरम्भले नेपाली विज्ञापन व्यवसायी, विज्ञापनकर्ता, उपभोक्ता र अन्य सम्बन्धित पक्षहरुमा मौलिकताको महत्वबारे सन्देश प्रवाह गर्न ठूलो भूमिका खेलेको छ । साथै स्वदेशी विज्ञापनलाई विदेशी विज्ञापनसँग तुलना गर्दा नेपाली विज्ञापनमा मौलिकता र सिर्जनशिलता छैन भन्ने प्रवृत्ति पनि विस्तारै अन्त्य भइरहेको छ ।

नेपालमा विज्ञापन व्यवसायको भविष्य कस्तो देख्नुभएको छ ?

सूचना प्रविधिमा आएका नवीनतम सोच एवं व्यवहारहरुलार्ई विज्ञापन जगतले पनि अवलम्बन गर्नु पर्दछ । आजको चरम प्रतिस्पर्धी वातावरणमा आधुनिक उपभोक्ताहरुको मन र मस्तिष्क जित्ने खालको विज्ञापन निर्माणका लागि बजार अनुसन्धान र अन्य उत्पादनको बजार अवस्थाको बारेमा जानकार हुनु आवश्यक छ । यसैगरि विज्ञापन चक्रका उद्यमी, सरकार, विज्ञापन एजेन्सी र सञ्चार माध्यमहरुबीच बलियो सहकार्य एवं समन्वय हुनुपर्दछ । विज्ञापन जगतमा सबल मानव संशाधनको विकासका निमित्त विभिन्न अन्तरक्रिया, गोष्ठी लगायतका कार्यक्रमहरु गरि यसलाई उद्योगको रुपमा स्थापित गर्नका लागि सरकारले समेत उत्प्रेरणा प्रदान गर्नु पर्दछ । अहिलेको परिस्थितिमा पनि विज्ञापनसम्बन्धी नीति नियमहरु तर्जुमा गरि अब यसलाई कसरी अगाडि लैजाने भन्नेतर्फ गहिरेर सोच्नुपर्ने अवस्था आएको छ । त्यसका लागि सरकारको समेत ध्यानाकर्षण भएको खण्डमा नेपाली विज्ञापनको भविष्य उज्ज्वल हुने विश्वास लिन सकिन्छ ।