निर्माण व्यवसायी संघका अध्यक्ष गौचनको राजधानीमा गोली हानी हत्या

 

काठमाडौँ । काठमाडौंको शान्तिनगरको प्रयागमार्गमा गोली प्रहार गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको निधन भएको छ । डिएसपी रवि पौडेलका अनुसार गौचनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अस्पतालका चिकित्सकहरुले भने गौचनको अस्पताल नपुरयाउँदै बाटोमा नै मृत्यु भएको बताएका छन् । गौचनको बाँया कोख,छाती र टाउकोमा गोली लागेको छ । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिहरुले गौचनलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ । 

गौचन एशिया तथा पश्चिम प्यासिफिक एशोसियनको ४३ औ सम्मेलनबाट उपाध्यक्षमा चार महिना अघि निर्वाचित भएका थिए ।

आफनो निवासबाट ५० मिटरको दुरीमा गौचन माथि गोली प्रहार गरिएको थियो । घटनाका प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले शुरुमा सवारी साधनको सिसामा इटा प्रहार गरेका थिए । इटा प्रहार गरेपछि सवारी साधन रोकिएको थियो ।

सवारी साधन रोकिएकै अवस्थामा अर्को आक्रमणकारीले गौचन माथि गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । मोटरसाइकलमा आएका आक्रमणकारी आक्रमणपछि सोही मोटरसाइकलमा चढेर फरार भएका हुन । घरको गल्लीबाट मूल सडकमा पुग्ने बित्तिकै सो घटना भएको हो । सवारी साधनका चालक भने सुरक्षित छन् ।

गौचनका दुई छोरी,एक छोरा,श्रीमती र आमा छन् ।