काँग्रेसका केन्द्रीय नेताहरुका लागि निर्वाचन क्षेत्र तय,तालमेलमा कठिन

maitrinews

 

सत्तारूढ दल कांग्रेसले प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष सिटमा चुनाव लड्ने केन्द्रीय नेताहरूको निर्वाचन क्षेत्र तय गरेको छ । राजपा र संघीय समाजवादी फोरमसित चुनावी तालमेलको प्रयास जारी राखेको कांग्रेसले गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेल मिलाउन मुस्किल भएपछि बसेको संसदीय समिति बैठकले समितिमा रहेका नेताहरूको निर्वाचन क्षेत्र तय गरेको हो । तालमेल मिलाउन समय लाग्ने भएकाले केन्द्रीय सदस्यको निर्वाचन क्षेत्र अर्को चरणमा गर्ने पार्टीको तयारी छ ।
कांग्रेस संसदीय समितिको निर्णयअनुसार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट चुनाव लड्नेछन् । देउवा ०४८ सालदेखि निरन्तर डडुलधुरबाटै निर्वाचित हुँदै आएका छन् । ०४८ देखि निरन्तर निर्वाचित हुँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट र भर्खरै नेपाल लोकतान्त्रिक फोरमबाट कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदार सुनसरी–३ बाट उम्मेदवार भएका छन् । कांग्रेस महामन्त्री शशांक कोइराला नवलपरासी ९पूर्वी०– १ बाट उम्मेदवार बनेका छन् । उनी यसअघिका दुवै संविधानसभा निर्वाचनमा नवलपरासीबाटै निर्वाचित हुँदै आएका थिए । पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौं– १ बाटै निर्वाचन लड्ने भएका छन् । ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा सिंह यसै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

पूर्वमहामन्त्री विमलेन्द्र निधि धनुषा–३ बाट उम्मेदवार हुने भएका छन् । अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला यसपटक समानुपातिकमा बसेका छन् । सिटौलाको निर्वाचन क्षेत्रमा राप्रपा उम्मेदवारलाई छाड्ने तयारी कांग्रेसको छ ।

पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का सुर्खेत १ बाट उम्मेदवार हुनेछन् । उनी यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की गृहजिल्ला भोजपुर छाडेर सुनसरी ४ बाट उम्मेदवार हुँदै छन् । यसअघि समानुपातिक सांसद रहेका कार्की सुरक्षित स्थल खोज्दै सुनसरी पुगेका हुन् । देउवा निकट अर्का नेता प्रकाशशरण महत गृहजिल्ला नुवाकोटमा क्षेत्र नपाएपछि काठमाडौं–५ बाट उम्मेदवार हुने भएका छन् । यस क्षेत्रबाट ०६४ र ०७० को संविधानसभा निर्वाचनमा केन्द्रीय सदस्य नरहरि आचार्य निर्वाचित हुँदै आएका थिए । स्वास्थ्यका कारण आचार्य चुनावी मैदानमा आउन नसक्ने भएपछि महतका लागि यो क्षेत्र जुरेको हो । कांग्रेस केन्द्रीय सदस्यहरू महेश आचार्य मोरङ ४, शेखर कोइराला मोरङ ६ र मीनेन्द्र रिजाल मोरङ २ बाट चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । रिजाल यसअघि संविधानसभाका दुवै कालखण्डका समानुपातिक सांसद हुन् । कांग्रेस नेत्री सुजाता कोइराला समानुपातिकमा बसेपछि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको गृहक्षेत्रबाट रिजालले चुनाव लड्न पाएका हुन् । आचार्य र शेखर कोइराला यसअघि पनि निर्वाचित सांसद नै हुन् । यस्तै, नारायण खड्का उदयपुर १, नविन्द्रराज जोशी काठमाडौं ८, रमेश लेखक कन्चनपुर ३, नारायणबहादुर कार्की उदयपुर २ र अर्जुन जोशी पर्वत १ बाट उम्मेदवार हुने भएका छन् । कांग्रेसले युवा नेता गगन थापालाई काठमाडौं–४ बाट उम्मेदवार बनाउने भएको छ । उनी यसअघि पनि उक्त क्षेत्रबाट संविधानसभामा निर्वाचित भएका थिए ।

यसअघि समानुपातिकबाट सांसद रहेका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ यसपटक स्याङ्जा २ बाट प्रतिस्पर्धामा उत्रने भएका छन् । श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुर बारा ३ बाट प्रतिस्पर्धा गर्दै छन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् । अर्का केन्द्रीय सदस्य रमेश रिजाल पर्सा ४ बाट उम्मेदवार भएका छन् । केन्द्रीय सदस्य एनपी सावद कञ्चनपुर २ बाट उम्मेदवार भएका छन् ।

कांग्रेस संसदीय समितिमा रहेका नेता रामशरण महत र अर्जुननरसिंह केसीले नुवाकोटबाट उम्मेदवारी दर्ता गराइसकेका छन् । नुवाकोटमा पहिलो चरणमा चुनाव हुँदै छ । कांग्रेस केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादव यसपटक समानुपातिकमा बसेकी छन् । अर्की पूर्वकोषाध्यक्ष चित्रलेखा यादव पनि समानुपातिकमै छिन् । सीतादेवी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित हुन् भने चित्रलेखा अघिल्लोपटक पनि समानुपातिक सांसद नै हुन् । संसदीय समितिमा रहेका बालकृष्ण खाँडसमेत यसपटक समानुपातिकमा छन् । यसअघि रूपन्देहीबाट झिनो मतान्तरमा निर्वाचित खाँड देशभर नै निर्वाचन हाँक्ने समितिमा बस्न सभापति देउवाले आग्रह गरेका कारण समानुपातिकमा बसेको दाबी गर्दै आएका छन् । संसदीय समितिकै सदस्य मानबहादुर विश्वकर्मा पनि समानुपातिक सूचीमै छन् । प्रदेश नम्बर २ मा राजपा र संघीय समाजवादी फोरमबीच चुनावी तालमेलका लागि कतिरकति सिट लिने भन्नेमा चलेको रस्साकस्सी अझै निष्कर्षमा पुग्न सकेको छैन ।