कालो बजारी ऐन संशोधनको माग

काठमाडौं । उद्योगी व्यवसायीहरुले २०३२ सालमा बनेको कालो बजारी ऐन शंशोधनको माग राखेका छन् । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा आइतबार गएको प्रतिनिधिमण्डलले नवनियुक्त मुख्य सचिव लोकदर्शन रेग्मीलाई भेटी ऐन शंशोधनको माग राखेको हो । पुरानो ऐनले विद्यमान बजारको समस्यालाई सम्वोधन गर्न नसकेको भन्दै प्रतिनिधिमण्डलले ऐनलाई समयसापेक्ष रुपमा शंशोधन गर्नुपर्ने खाँंचो औंल्याए ।
सिंहदरवारमा भएको भेटमा चेम्वरका अध्यक्ष श्रेष्ठले बजार अनुगमनका नाममा व्यपारीहरुलाई दुःख दिने काम भएको बताउनुभयो । अर्थ, वाणिज्य, आपूर्ति मन्त्रालयलगायत प्रहरी प्रशासनबाट बजार अनुगमन हुने गरेकाले शंशोधित ऐनमा बजार अनुगमनका क्षेत्राधिकार स्पष्ट गर्नुपर्ने उनले बताए ।
अध्यक्ष श्रेष्ठले पूर्व घोषित बाहेकका अपर्झट सार्वजनिक विदा दिंदा राष्ट्र बैंक अन्तर्गतका बैंक तथा वितीय क्षेत्रहरुका सेवालाई सुचारु गर्ने वन्दोवस्त मिलाउन ध्यानाकर्षण गराए ।
भेटमा मुख्य सचिव रेग्मीले निजी क्षेत्रलाई विपक्षीको रुपमा लिएर सरकारको तर्फबाट दमनको काम आफ्नो कार्यकालमा कहिल्यै नहुने स्पष्ट पार्नु भयो । सरकार र निजी क्षेत्रवीचको संयुक्त सहकार्यबाट मात्रै मुलुक समृद्ध हुने भएकाले दुवै पक्ष मिलेर अगाडि वढ्नुपर्ने आवश्यकता उनले औंल्याए । ।
भेटमा चेम्वरका प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर, द्धितीय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेश कुमार अग्रवाल, सचिवहरु देवेन्द्रभक्त श्रेष्ठ, सन्तोषकुमार पाण्डे, पर्शुराम दाहाललगायतका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।