वाम गठबन्धनको संयुक्त चुनावी अभियान सुरु, अत्यधिक बहुमत दिलाउन मतदातालाई ओलीको आग्रह

maitrinews

 


ताप्लेजुङ । वाम गठबन्धन बनाएका नेकपा एमाले र माओवादी केन्दले संयुक्त चुनावी अभियान सुरू गरेका छन्। पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट आइतबारदेखि अभियान सुरू भएको हो।
गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा एमालेका योगेश भट्टराई उम्मेदवार हुनुहुन्छ।
‘प्रचण्डजी आउन सक्नु भएन केही फरक पर्दैन। दुइ जना आउने भन्ने थियो उहाँले भ्याउनुभएन। उहाँ आउनु भएको भए म आउँदिन थिएँ। मेरो स्वास्थ्य ठीक थिएन। उहाँ आउन नसक्ने हुनुभएपछि म आएको हुँ’, ओलीले भन्नुभयो, ‘कोही ठाउँमा म पुगौँला। कोही कोहीमा उहाँ पुग्नुहोला। कोही ठाउँमा हामी दुबै पुगौँला। केपी ओली आए पनि उस्तै हो भन्ने ठान्नुहोस् प्रचण्ड आए पनि उस्तो हो भन्ने ठान्नुहोस्।‘
ओलीले चुनाव अघि असन्तुष्टि थाती राख्न र गठबन्धनमा मतदान गरी अत्यधिक बहुमत दिलाउन आग्रह गर्नुभयो।

‘पार्टी नहेर्नुस्। एमाले भोट धेरै भए पनि थोरैका लागि खट्नुपर्‍यो भन्ने मनमा परेको होला। त्यो छाड्नुस्। हामी एउटै अभियानमा छौँ’, ओलीले भने, ‘चुनावसम्म अर्को पार्टी भन्ने बिर्सनुहोस्। चुनावपछि एउटै पार्टी बनाउँछौ कुरै छाड्दिनुहोस्।’

वाम गठबन्धनले पहिलो चरणमा चुनाव हुने ३२ जिल्ला संयुक्त चुनावी सभा गर्ने जनाएको छ। ताप्लेजुङबाट सुरू भएको सभा कात्तिक २६ गते दार्चुलामा सकिने छ।