जनतालाई भेँडाबाख्रा ठान्ने भट्टराई विचारहीन नेता : श्रेष्ठ

maitrinews

बारपाक । नेकपा माओवादी केन्द्रका नेता तथा गोरखा २ का प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठले आफ्ना प्रतिद्वन्द्वी डा। बाबुराम भट्टराईलाई बिचारबिनाका नेता भन्दैआफूले गोरखा २ बाट चुनाव जित्ने दावी गर्नुभएको छ ।

‘बाबुरामजीको कुनै बिचार र योजना छ र ?’ विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले भन्नुभयो, ‘उहाँको कुन समयको बिचार र योजनालाई मान्ने ?’

‘माओवादीमा हुँदा, त्यहाँबाट निस्केर नयाँशक्ति गठन गर्दा, नयाँशक्तिको शक्ति निर्माण गर्न नसकेर संघीय समाजवादी फोरमसँग पार्टी एकता गरौं भन्दा, फोरमले अस्थिर बिचार भएकासँग एकता गर्दैनौं भनेर पछाडि हटेपछि उसैको चुनाव चिन्ह मशाल लिएर स्थानीय तह निर्वाचनमा सामेल हुँदा, एकीकृत कम्युनिस्ट पार्टी बनाउन म पनि आउँछु भन्दा, चार दिनमै निस्केर जाँदा या त्यसको चार दिनपछि कांग्रेससँग पुग्दा । कतिबेलाको बिचारलाई मान्ने बाबुरामको ?’ श्रेष्ठले भन्नुभयो ।
आफूसँग प्रष्ट बिचार हुनु नै चुनाव जित्ने बलियो आधार भएको श्रेष्ठले बताउनुभयो ।
गोरखा २ का कांग्रेस समर्थकहरुको पनि आफू नै प्रतिनिधिसभाको उम्मेदवार भएको श्रेष्ठको जिकिर थियो । ‘जसलाई कांग्रेसले समर्थन गरेको छ, उसले विकास निर्माणका निम्ति सरकार बनाउन सक्दैन । र, राजनीतिमा मौकापरस्त, अवसरवादी र व्यक्तिवादी प्रवृत्ति यति देखियो कि त्यसले लोकतन्त्रलाई सुदृढ पनि गर्दैन ।’

श्रेष्ठले डा। भट्टराईलाई मौकावाद, अवसरवाद र व्यक्तिवादबाट ग्रसित नेताको संज्ञा दिनुभयो । ‘आज एउटा, भोलि अर्कै, पर्सि अर्कै कुरा गर्ने र त्यसको वरिपरि जनता आइदिन्छन् भनेर मतदातालाई भेडाबाख्रा ठान्ने मान्छेले लोकतन्त्रको रक्षा गर्दैन,’ उहाँले भन्नुभयो ।