बुढीगण्डकी आयोजनाको सम्झौता खारेज देउवा सरकारको ठूलो गल्ती : प्रचण्ड

maitrinews

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चिनियाँ कम्पनीसँग गरेको सम्झौता खारेज गरेर सरकारले ठूलो गल्ती गरेको बताउनुभएको छ ।

आफूहरु मुख्य घटक भए पनि सरकार एकलौटी रुपमा चलेको भन्दै चितवनमा सञ्चारकर्मीहरु कुरा गर्दै प्रचण्डले भन्नुभयो, ‘सरकारका सहभागी प्रमुख दलको सहमति विना निर्णय गर्न मिल्दैन ।’
अफ्ठ्यारो अवस्था आए भूमिका खेल्न सकिन्छ भनेर मात्र सरकारमा बसेको भन्दै अध्यक्ष प्रचण्डले बुढीगण्डकीको सम्झौता खारेज गरेर सरकारले ठूलो गल्ती गरेको दावी गर्नुभयो ।

धेरै मेहनत गरेर बुढीगण्डकी आयोजनामा सम्झौता गरिएको र यो सफल हुँदा आर्थिक क्रान्ति नै हुने अवस्था रहेको भन्दै उहाँले भन्नुभयो, ‘एकलौटी ढंगले खारेज गरिएको छ । यो सरकार आर्थिक विकास र सम्बृद्धितिर होइन, निकै संकीर्ण राजनीतिक स्वार्थ र पूर्वाग्रहमा चलेको छ भन्ने प्रमाण हो । चीन सरकारका प्रतिनिधिसमेत बसेर गरेको सम्झौता हो । त्यो खारेज गरेर गलत गरेको छ ।’

प्रचण्ड सरकारको अन्तिम समयमा १२ सय मेघावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न गेजुवा कम्पनीलाई दिने निर्णय गरेको थियो । यो आयोजनाले वन बेल्ट वन रोडमा राख्न समेत प्रस्ताव गरिएको छ ।
तर, देउवा सरकारले हालै मात्र सम्झौता खारेज गरेको छ ।