समृद्धिको सपना पूरा गर्न वाम गठबन्धनको सरकार अनिवार्य : महासचिव पोखरेल


काठमाडौँ । नेकपा (एमाले) महासचिव एवं काठमाडौँ क्षेत्र नम्बर–५ का वाम गठबन्धनका उम्मेदवार ईश्वर पोखरेले राजनीतिक लडाईँको कार्यभार समाप्त भएको भन्दै अब समृद्धिको दिशामा अघि बढ्ने बताउनुभएको छ । चुनावी सभाका क्रममा शनिबार बालुवाटारमा सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘हामी राजनीतिक लडाईँको अन्तिम अध्यायमा छौँ,’ उहाँले भन्नुभयो, ‘संविधान कार्यान्वयनपछि देशलाई समृद्धिको दिशामा कसरी अघि बढाउन सकिन्छ भनेर मात्र सोच्ने छौँ ।’
उहाँले वाम गठबन्धन लहर र लहडका भरमा आएको नभई तीन करोड नेपालीको समृद्धिको सपना पूरा गर्ने उदेश्य बोेकेर आएको पनि दाबी गर्नुभयो । ‘अरुले सपना बाँढ्दै हिँडेका छन्,’ उहाँले एक सय ८० बढी युवालाई एमाले प्रवेश गराउँदै भन्नुभयो,’ ‘हामी तपाईँहरुका सपना पूरा गर्छौ । तपाईँहरु रोजगारीका एजेण्डा लिएर आउनुहोला । म ३ सय ६५ दिन नै तपाईँहरुको साथमा रहने छु ।’
उहाँले अब दैनिक हजार, दुई हजारको संख्यामा रोजगारीका लागि विदेश जाने परम्पराको समेत अन्त्य हुने दाबी गर्नुभयो । ‘स्वदेशमा श्रम गर्ने वातावरण हामी निर्माण गर्छौ,’ उहाँले भन्नुभयो, ‘तपाईँहरु यही माटोमा सुन पलाउन सक्नुहुन्छ । यही उद्योग–कलकारखाना चलाउन सक्नुहुन्छ ।’
उहाँले वाम गठबन्धन देश बनाउने संकल्प लिएर अघि बढेको भन्दै युवाहरुलाई राष्ट्रको आवश्यकता अनुसार काम गर्न सुझाव दिनुभयो ।
उहाँले अहिले जनताले फुट्न होइन जुट्न चाहेको भन्दै जनताको चाहना पनि यो सानो देशमा दुईवटा मात्र पार्टी हुन् भन्ने रहेको बताउनुभयो । ‘हामी जनताको त्यहि चाहना पूरा गर्ने तयारीमा छौं । यो जे हुँदैछ, पार्टी एकताको कुरा मात्र होइन, जनता जोड्ने र देश विकासमा लैजाने प्रक्रिया हो ।’
वाम एकताले पार्टीका नेता भन्दा धेरै जनता हौसिएको पनि दाबी गर्नुभयो । उहाँले जनताको त्यही हौसलालाई दुईतिहाई बहुमतको सरकार बनाएर संम्भावनामा परिणत गर्ने पनि प्रण गर्नुभयो ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक समूह बालुवाटार, हाँडीगाउँ युवा समूह र टुसाल युवा समूहका एक सय ७४ जना युवाले एमाले प्रवेश गरे । ती समूहबाट करुणसिंह ठकुरी, सञ्जिव थापा, विके नेपाली र सत्य रजकले नेतृत्व गर्नुभएको थियो ।
स्थानीय निर्वाचनमा राप्रपाको तर्फबाट वुढानिलकण्ठ नगरपालिका वडा नम्बर–७ वडा अध्यक्ष बुद्धि श्रेष्ठ पनि एमाले प्रवेश गर्नुभयो । उहाँहरु सबैलाई महासचिव पोख्रेल र एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले टिका लगाएर स्वागत गर्नुभयो ।