बाम गठबन्धनको चुनावी कार्यक्रम नरोकिने

maitrinews

 


काठमाडौँ । पुत्रशोकमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समवेदना दिनुभएको छ ।

दाहाल निवास लाजिम्पाटमा पुगेर देउवा र ओलीले दाहालसहित परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो । प्रेस संयोजक चेतन अधिकारीका अनुसार अध्यक्ष ओलीले पुत्र प्रकाश दाहालको निधनले आफू र आफ्नो पार्टी मर्माहत भएको बताउँदै धैर्यधारण गर्न आग्रह गर्नुभयो ।

ओलीले दाहाल पत्नी सीतालाई पनि विभिन्न उदाहरण दिंदै शोकलाई शक्तिमा बदल्न आग्रह गर्नुभयो ।
ओलीसहित पत्नी राधिका र वरिष्ठ नेता माधवकुमार नेपाल समवेदना पत्रसहित दाहाल निवास पुग्नुभएको थियो

दाहालपुत्र प्रकाशको हृदयघातबाट शनिबार राति निधन भएको थियो ।

वाम गठबन्धनले शोकका बीच पनि चुनावी अभियान नरोक्ने भएका छन् । ओली र दाहालले संयुक्तरुपमा गर्ने भनिएका सबै कार्यक्रमलाई निरन्तरता दिने अधिकारीले बताउनुभयो ।

मंगलबार चितवनमा हुने कार्यक्रममा दाहाल पनि उपस्थित हुनुहुनेछ । तर, सम्बोधन भने माओवादीको तर्फबाट नेता रामबहादुर थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

समवेदना दिन पुगेका बेला जम्काभेट भएका प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीले चुनावी सुरक्षा मिलाउन आग्रह गर्नुभयो । उहाँले घटनामा भएको भौतिक क्षतिको क्षतिपूर्ति दिन पनि आग्रह गर्नुभयो ।