थानकोट— कलंकी र कलंकी— बल्खुको सडक विस्तार चाँडो पूरा गराउन प्रयास गर्छ : श्रेष्ठ ,परिवर्तनको अनुभूति गराउन वाम सरकारको नेतृत्वको आवश्यक  : शाक्य

 

काठमाडौँ । मंसिर २१ हुने प्रतिनिधिसभा चुनावका लागि काठमाडौं जिल्ला क्षेत्र नं. ९ मा १४ उम्मेदवार मैदानमा छन् । प्रतिनिधिसभा सदस्यका लागि मुख्य प्रतिस्पर्धा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ र नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जितबीच हुनेछ । तर यस पटक बाम गठबन्धन गरिएकाले श्रेष्ठले सहजै चुनाव जित्ने अवस्था सिर्जना भएको छ । 

२०६४ र २०७० को पहिलो र दोस्रो संविधानको चुनावमा बाम तालमेल नहुँदा झिनो मत अन्तरले दुवै चुनावमा रञ्जितलाई चौका पर्यो ।   श्रेष्ठ पछिल्ला दुईवटा हारको बदला लिने सुरमा रहनुभएका श्रेष्ठले मतदातासमक्ष पुगेर विभिन्न प्रतिबद्धता व्यक्त गर्नुभएको छ । २०६४ को निर्वाचनअघिसम्म काठमाडौंको ९ नं. क्षेत्र कम्युनिस्ट ‘भोट बैंक’ का रूपमा चिनिँदै आएको थियो । त्यसअघिका तीनवटा चुनावमा कांग्रेसले हारको ‘ह्याट्रिक’ नै गरिसकेको थियो । तर, २०६४ र ०७० को दोस्रो संविधानसभाको चुनाव बाम नमिल्दा काँग्रेसले जितेको हो । तर अहिले बाम गठबन्धनले साझा उम्मेदवारका रुपमा श्रेष्ठलाई उठाएकाले जित्न सजिलो हुने भएको छ । 

श्रेष्ठ २०४८ को उपनिर्वाचन र २०५१ को मध्यावधिमा यही क्षेत्र तत्कालीन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभाका लागि निर्वाचित हुनुभयो ।  श्रेष्ठले पनि दस वर्षभन्दा बढी एमालेको उपत्यका इन्जार्ज भएर चुनावी अभियानलाई हाँकिसक्नुभएको छ । हाल केन्द्रीय सचिवालय सचिव रहेका श्रेष्ठ दस वर्षभन्दा बढी उपत्यका समन्वय कमिटीको इन्चार्ज रहनुभयो ।

 सडक, पानी, ऐतिहासिक स्थलहरूको सरंक्षण, नागढुंगा–कलंकी सडक, रामकोट–सीतापाइला सडक, सडक विस्तारका क्रममा दिनुपर्ने मुआब्जा, पानीको सहज आपूर्ति तथा स्रोतको व्यवस्थापन, महानगरभित्रका क्षेत्रमा ढलको सुधार, ऐतिहासिक स्थलहरूको संरक्षण चुनावी मुद्दा बनेका छन् ।

श्रेष्ठले कलंकी–नागढुंगा सडकका कारण स्थानीय जनताले मात्र नभई राजधानी आउने सबैले सास्ती खेपिरहेको हुँदा त्यसको तत्काल सुधारमा आफ्नो जोड हुने बताउनुभयो । त्यसबाहेक वाणभन्ज्याङदेखि मकालु पेट्रोलपम्पसम्मको बाटो लामो समय बितिसक्दासमेत पुरानै अवस्थामा रहेको हुँदा त्यसको स्तरोन्नतिमा आफूले ध्यान दिने बताउनुभयो ।

‘पानीको नियमित आपूर्ति, ओझेलमा परेका ऐतिहासिक र सांस्कृतिक स्थलहरूको संरक्षण र प्रवद्र्धन गर्न पहल गर्नेछु,’ श्रेष्ठले भन्नुभयो , ‘स्वास्थ्य र शिक्षासमेत प्राथमिकतामा छन् ।’

उता प्रदेशसभा सदस्यका लागि बाम गठबन्धन भएकै कारण डा. अजयक्रान्ति शाक्य र केशव पोखरेललाई सहज हुने हुने भएको छ । उहाँहरु पनि चुनावी मैदानमा अहोरात्र खटिनुभएको छ ।

नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठले थानकोटदेखि कलंकी र कलंकीदेखि बल्खुको सडक विस्तार कार्य चाँडो पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ । 

नेकपा (एमाले) क्षेत्र नं ९ बल्खु एकाइले  आयोजना गरेको चुनावी कार्यक्रममा उहाँले उक्त सडकखण्ड विस्तार एवं पुनःनिर्माणमा ढिलाइ हुँदा धुवाँ र धुलोको समस्याले स्थानीयवासीलाई समस्या भएको बताउनुभयो । 

मुलुकमा शान्ति र सरकारको स्थायित्वका लागि वाम गठबन्धन भएको बताउँदै नेता श्रेष्ठले गठबन्धन बनेपछि नेपाली काँग्रेसले अत्तालिएर वाम सरकार गठन भए अधिनायकवाद आउने भ्रम फैलाएको बताउनुभयो ।

देशमा राजनीतिक स्थिरता कायम गरी जनतालाई समृद्ध बनाउन आफूले उम्मेदवारी दिएको बताउँदै उहाँले प्राचीन महत्वको इन्द्र दहका साथै. विभिन्न जात्रा र पर्वको संरक्षण गरी यो क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने आफ्नो योजना रहेको उल्लेख गर्नुभयो । 

काठमाडौँ निर्वाचन क्षेत्र नं ९ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता श्रेष्ठले देशमा राजनीतिक परिवर्तन पूरा भएकाले अब सामाजिक रूपान्तरण गरी आर्थिक क्रान्ति पूरा गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रदेश नं (क) का उम्मेदवार डा अजयक्रान्ति शाक्यले देशमा पूर्वाधार निर्माण तथा स्थानीय विकासका कार्यमा लगानी वृद्धि गरी रोजगार सिर्जना गर्ने योजना रहेको बताउँदै जनतालाई परिवर्तनको अनुभूति गराउन वाम सरकारको नेतृत्वको आवश्यक रहेको बताउनुभयो ।