काठमाडौँमा वाम गठबन्धनको ७० प्रतिशत चुनावी घरदैलो सकियो ,शीर्ष नेता देश दौडाहामा

maitrinews


काठमाडौं । काठमाडौं जिल्लाका वाम गठबन्धनका उम्मेदवारले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएसँगै उत्साहित बनेका वाम गठबन्धनका उम्मेदवारले चुनावी अभियानलाई तीव्र बनाएका हुन् ।
अहिलेसम्म १० वटै निर्वाचन क्षेत्रमा करिब ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेको ती क्षेत्रका उम्मेदवारले जानकारी दिएका छन् । काठमाडौंबाटै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल समेत उम्मेदवार रहेका कारण उहाँहरु पनि घरदैलो कार्यक्रममा व्यस्त बन्नुभएको छ । करिब एक हप्ता आफ्नै निर्वाचन क्षेत्रको घरदैलो कार्यक्रममा व्यस्त बन्नुभएका नेपाल र पोखरेल पछिल्लो समय राजधानी बाहिरका चुनावी सभामा समेत सहभागी हुन थाल्नु भएको छ ।
वरिष्ठ नेता नेपाल सोमबार ओखलढुंगाको चुनावी सभामा र मंगलबार चितवनको चुनावी सभामा भाग लिएर फर्किनु भयो भने आज उहाँ आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर–२ को कोटेश्वरको घरदैलो कार्यक्रममा सहभागी भएर आजै सिरहाको सभामा जानु भएको छ ।
महासचिव पोखरेल ओखलढुंगाको चुनावी सभामा भाग लिन त्यता प्रस्थान गर्नुभएको छ । ओखलढुंगा उहाँको जन्मभूमि पनि हो ।
नेपाल र पोखरेल राजधानी बाहिरका चुनावी सभामा समेत केन्द्रित भए पनि अन्य उम्मेदवार भने आ–आफ्नै चुनावी क्षेत्रको घरदैलो र चुनावी सभामै केन्द्रित भएका छन् । काठमाडौँ क्षेत्र नम्बर–१ मा वाम गठबन्धनका तर्फबाट अनिल शर्मा उम्मेदार हुनुहुन्छ । उहाँ अहिले आफ्नै क्षेत्रको चुनावी अभियानमा व्यस्त हुनुहुन्छ । उहाँलाई एमालेका तर्फबाट उम्मेदवारको चर्चामा रहनुभएकी सवित्रा भुसालले सहयोग गरिरहनु भएको छ । काठमाडौँ जिल्ला इन्चार्ज समेत रहनु भएकी सावित्री भुसालले प्रचारको क्रममा वाम गठबन्धनका उम्मेदवारलाई उत्साह मिलेको बताउनु भयो । उहाँले दिनदिनै वामगठबन्धनको भेला बढदै गएको पनि बताउनु भयो ।
काठमाडौ क्षेत्र नं. २ बाट उम्मेदवार बन्नुभएका वरिष्ठ नेता नेपाल र क्षेत्र नं. ५ बाट उम्मेदवार बन्नुभएका महासचिव पोखरेलले पनि चुनावी घरदैलोलाई तीव्रता दिनुभएको छ ।
क्षेत्र नं. २ को काठमाडौँ वडा–३२ कोटेश्वर र गोठाटारमा भेला सकेर वरिष्ठ नेता नेपाल आज सिरहा जानु भएको प्रदेश नं. ३ का प्रचार विभाग प्रमुख एंव काठमाडौं क्षेत्र नं. २ प्रदेश ‘क’का उम्मेदवार सानु श्रेष्ठले जानकारी दिनुभयो । नेपालले आगामी मंसिर १७ सम्म घरदैलो कार्यक्रमलाई जारी राख्ने हुनुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
मंगलबार चितवनमा आयोजित वाम गठबन्धनको चुनावी सभामा नेपाल सहभागि हुनु भएको थियो । वरिष्ठ नेता नेपाल उम्मेदवारी दर्तापछि घरदैलो कार्यक्रममा सहभागि हुनु भएको थियो ।
काठमाडौ क्षेत्र नं. ३ का प्रतिनिधी सभाका उम्मेदवार तथा काठमाडौं जिल्ला कमिटी अध्यक्षसमेत रहनु भएका कृष्ण राईले पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिएको जानकारी दिनुभयो । उहाँले कोठे भेला, वैठक र सभालाई निरन्तरता दिएको पनि जानकारी दिनुभयो । ‘मतदाताको घरदैलोमा जाने, उहाँहरुसँग भेटघाट गर्ने, समस्या बुझ्ने जस्ता कामलाई हामीले तीव्रता दिएका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले करिब ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेका छौँ । अब फेरि एक पटक सकेर दोस्रो पटक पनि जनताको घरदैलोमा जानेछौँ ।’
उहाँले उम्मेदवारी दर्तापछि निरन्तर प्रसारमा लागेको बताउनुभयो । ‘घरदैलो भेला विहानैदेखि सक्रिय भएर लागेका छौ,’ उहाँले भन्नुभयो, ‘टोलभेला र घरदैलोमा वाम गठबन्धनका उम्मेदवार पुग्दा मतदाताले उत्साहित हुनु भएको छ । हामी यसपटक काठमाडांैका सवै क्षेत्रमा जितेर लालकिल्ला बनाउने छाँै ।‘
यसैगरी क्षेत्र नं. ४ मा पनि चुनावी प्रचार अभियानलाई तीव्रता दिइएको छ । क्षेत्र नं. ४ बाट प्रतिनधि सभाका उम्मेदवार डा. राजन भट्टराईले आफ्नो चुनावी अभियानलाई तिव्र बनाएको बताउनु भएको छ । ‘हामी अहिले पनि निरन्तर घरदैलो कार्यक्रममा छौँ,’ उहाँले भन्नुभयो, ‘हामी जहाँजहाँ चुनावी अभियान लिएर गएका छौँ । त्यहाँत्यहाँका जनता उत्साहित भएको पाएका छौँ ।’ उहाँले यो पटक क्षेत्र नम्बर–४ मा वाम गठबन्धनको जित निश्चित भएको बताउनुभयो । सो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका गगन थापा उम्मेदवार हुनुहुन्छ ।
क्षेत्र नम्बर–५ मा पनि ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ । ‘हामीले अहिले ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेका छौं,’ क्षेत्र नम्बर–५ काउम्मेदवार समेत रहनु भएका महासचिव पोखरेलले भन्नुभयो, ‘अहिले विभिन्न खाले भेला, बैठक र छलफललाई तिव्रता दिएका छौं । यो पटक यो क्षेत्रबाट जित निश्चित छ । पोखरेलसँग नुवाकोट निवासी कांग्रेसका डा. प्रकाशशरण महत उम्मेदवार बन्नुभएको छ । उहाँ यो क्षेत्रका लागि नयाँ हो ।
क्षेत्र नम्बर–६ मा वामगठबन्धनका तर्फबाट झक्कु सुवेदी उम्मेदवार हुनुहुन्छ । त्यही क्षेत्रमा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर केशव स्थापित प्रदेश सभातर्फका उम्मेदवार बन्नुभएको छ । सातमा रामवीर मानन्धर उम्मेदवार हुनुहुन्छ । उहाँले मंगलबारबाट घरदैलो कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो । ‘हामीले मंगलबारबाट एक धक्का दिएका छौँ,’ उहाँले भन्नुभयो ‘मंगलबारबाट घर–दैलो कार्यक्रम सुरु गर्दा हजारौँको उपस्थिति थियो । यो नै हाम्रो जितको आधार हो ।’ उहाँले मंसिर १७ सम्म चुनावी प्रचारलाई तीव्रता दिने जानकारी दिनुभयो । उहाँले आफ्नो मुख्य प्रतिष्पर्धी कांग्रेस भएको र कांग्रेसले उम्मेदवार नै नउठाएकाले जित सहज भएको दाबी गर्नुभयो ।
क्षेत्र नम्बर ८ मा वाम गठबन्धनका तर्फबाट जीवनराम श्रेष्ठ हुनुहुन्छ । उहाँले पनि ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो । त्यही क्षेत्रबाट एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य प्रदेशसभाबाट उम्मेदवार बन्नुभएको छ । काठमाडौ क्षेत्र नं. ९ मा पनि विभिन्न भेला, बैठक र घरदैलो कार्यक्रम तीव्ररुपमा अघि बढेको क्षेत्र नम्बर–९ प्रदेश नं. १ का उम्मेदवार डा.अजयक्रान्ति शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँ वडा–२१ को घरदैलो सकिएको छ भने वडा नं. १४ को ६० प्रतिशत घरदैलो सकिएको छ । उहाँले वडा नं. १२ को ५० प्रतिशत घरदैलो सकिएको बताउनुभयो । त्यसैगरी भीमढुंगा, दहचोक, पुरानो नैकाप, स्युचाटारलगायतका स्थानको ६० प्रतिशत चुनावी प्रचार सकिएको जानकारी दिनुभयो । काठमाडौ क्षेत्र नं. ९ मा प्रतिनिधि सभामा एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ उम्मेदवार बन्नु भएको छ । क्षेत्र नम्बर–१० मा वाम गठबन्धनका हितमान शाक्य उम्मेदवार हुनुहुन्छ । सो क्षेत्रमा पनि चुनावी घरदैलो कार्यक्रम ७० प्रतिशत सकिएको छ ।