चुनावपछि स्थिर सरकार बनी देश नयाँ युगतर्फ अगाडि बढ्ने छ : ओली

maitrinews

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न चुनावपछि देश नयाँ युगतर्फ अघि बढ्ने बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित वाम गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले चुनावपछि स्थिर सरकार बन्ने भएकाले देशमा नयाँ युगको सुरुआत हुने जानकारी दिनुभयो ।

चुनावलगत्तै वामपन्थीको स्थायी सरकार बन्ने उहाँको दाबी थियो । वामपन्थीको सरकार देश र जनताका लागि आवश्यक रहेको भन्दै अध्यक्ष ओलीले जनतालाई अधिकार सम्पन्न बनाउन स्थिर सरकार आवश्यक भएको औँल्याउनुभयो । “वामपन्थीको सरकार बन्नलाई कसैले रोक्न सक्दैन”– उहाँले भन्नुभयोे, “चुनाव पछि पाँच वर्षका लागि स्थिर सरकार बन्छ ।”

अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण चुनाव अगाडि नै गर्ने योजना भए पनि समय अभावका कारण चुनावपछि बहुमतको सरकार निर्माणसँगै हुने बताउनुभयो ।

देशमा अप्ठ्यारो अवस्थामा भाग्ने नेता लोकतन्त्रका पक्षधर हुन नसक्ने चर्चा गर्दै उहाँले अब राष्ट्रियतालाई मजबुत बनाउन र नेपालीको शिर झुक्न नदिनेमा जोड दिनुभयो
माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले अहिलेसम्म अस्थिर सरकार भएका कारण देशमा असमानता भएको हो भन्दै चुनावपछि बन्ने स्थिर सरकारबाट नै देशमा समानतामुखी समाजवाद र समृद्धि हरेक जनताले महसुस गर्ने बताउनुभयो ।
प्रतिनिधिसभाअन्तर्गत निर्वाचन क्षेत्र नं १ का वाम गठबन्धनका उम्मेदवार ध्रुवकुमार शाही, क्षेत्र नं २ का प्रदेशसभा ९क० का उम्मेदवार यामलाल कँडेललगायतले वाम गठबन्धनलाई जिताउन सबै मतदातासँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावमा उम्मेदवारी दिएको डंडेलधुरामा एमाले अध्यक्ष केपी शर्मा ओली पुग्दा साँझसम्मै विशाल जनसागर उर्लियो । साँझको समयमा ओली अमरगढी पुग्दा विशाल जनसमुह कार्यक्रममा उत्रिएपछि डंडेलधुराबाट बिहीवारै धनगढी फर्कने ओलीको कार्यक्रम नै परिवर्तन हुनपुग्यो । साँझ ६ बजे अमरगढीमा आयोजित वाम गठबन्धनको सभालाई सम्बोधन गरेका ओलीले विहीवारको रात डंडेलधुरामै विताउनुपर्यो ।
ओली विहीबार दिनभर प्रदेश ६ र ७ का ७ वटा चुनावी सभा सकेर साँझ डंडेलधुराको अमरगढी पुग्नुभएको थियो । बुधबार चितवनबाट बुटबल हुँदै दाङका विभिन्न सभालाई सम्बोधन गर्नुभएका ओलीले रात पनि दाङमै विताउनु भएको थियो । विहीबार विहानै हेलिकोप्टरबाट दैलेखको सभालाई सम्बोधन गरिसकेपछि दैलेखकै दुल्लु पुग्नुभयो । दुल्लुबाट सुर्खेत र अछाम हुँदै अछामबाट बैतडी पुग्नुभएका ओलीको कार्यक्रम बैतडीबाट धनगढी फर्कने कार्यक्रम थियो । तर, डंडेलधुराको अमरगढीमा विशाल जनसभा साँझसम्मै ओलीलाई पर्खेर बसेको थाहा पाएपछि उहाँ अमरगढी जानुभयो ।

साँझ ५ बजे अमरगढी पुग्नुभएका ओलीले सम्बोधन सुरु गर्नासाथ आफू आउनुको कारण खुलाउनुभयो । ‘अहिलेको निर्वाचन सुशासन चाहने कि भ्रष्टाचार चाहने, राष्ट्रिय स्वाभिमान चाहने कि राष्ट्रिय स्वाभिमानको वास्ता नगर्ने, स्थिरता चाहने कि ६–६ महिनामा सरकार फेरिरहने भन्नेबीचको लडाईं हो’ देउवाको क्षेत्रमा ओलीले सम्बोधन गर्दै भन्नुभयो, ‘म सुशासन, राष्ट्रिय स्वाभिमान र स्थिरताका लागि मत माग्न यहाँ आएको हुँ ।’
ओलीले ज्योतिषीले नभएर जनताले प्रधानमन्त्री बनाउने पद्दति बलियो बनाउनु पर्ने पनि वताउनुभयो । प्रधानमन्त्री देउवाप्रति लक्षित गर्दै ओलीले यस्तो वताउनुभएको थियो । ‘कोही मान्छे सात सात पटकसम्म प्रधानमन्त्री बन्छु भन्दै हिँडेका छन्, तर तिनले चार पटक प्रधानमन्त्री हुँदा के गरेर देखाए रु’ ओलीले भन्नुभयो, ‘म एक पटक थोरै समय प्रधानमन्त्री भएँ, भारतले लगाएको नाकाबन्दी खुलाएँ, चीनसँग पारवहन सन्धी गरेँ, नेपालमै पेट्रोलियम अन्वेषण सुरु गरेँ । राष्ट्रिय स्वाभिमान उँचो बनाएँ, अव रेलमार्गले संसारसँग जोड्छौं, समृद्ध नेपाल बनाउँछौं ।’
ओली डंडेलधुरा पुग्दा साँझ परे पनि सर्वसाधारण सभामै बसे । रात छिप्पिंदा पनि सभास्थल खचाखच भरिएको थियो । अघिल्लो साता देउवाको उपस्थितिमा भएको सभा भन्दा कयौं गुणा ठूलो जनसमुह उपस्थिति भएको थाहा पाएपछि ओली डंडेलधुरामै बस्नुभएको थियो ।